प्रेसरकुकर ‘बम’ डिस्पोज गर्दा भेटियो यस्तो सामान ! चोरको नोट– घमण्ड नगर्नू, सबैसँग मिलेर बस्नू

घरबाटै चोरी भएको सामान प्रायः प्रहरीले पत्ता नलगाउन्जेलसम्म फिर्ता पाउनै मुस्किल हुन्छ। तर, कैलालीको अत्तरियामा भने चार महिनापछि चोरले चिठ्ठीमा सुझाव लेखेर गहना फिर्ता गरिदिएको छ।

गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनखेतका नवीन शाहूको घरबाट गत मंसिर १४ गते राति चोरी भएका गहना चोरले मंगलबार घर अगाडि प्रेशर कुकरभित्र सुझावसहितको चिठ्ठी र गहना राखेर फिर्ता गरेको हो।शाहूकै घर अगाडि मंगलबार बिहान प्लाष्टिकको थैलोभित्र प्रेसर कुकरमा राखेको अवस्थामा शंकास्पद खालको देखिने गरी चोरले सुझावसहितको चिठ्ठी र गहना फिर्ता गरेको प्रहरीले जनाएको छ।

गत मंसिर १४ गते राति शाहूको घरमा कोही नभएको मौका छोप्दै सुन चोरी भएको थियो। ‘सुन चोरी भएको भन्दै निवेदन दिएका शाहूको घर अगाडि आज बिहान प्रेसर कुकर राखिएको थियो,’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले भने, ‘बिहान हामीलाई जानकारी भएपछि नेपाली सेनाको बम डिस्पोजल टिमसहित त्यहाँ गएर डिस्पोज गर्दा उक्त कुकर भित्र सुन फेला पर्‍यो।’

उक्त प्रेसर कुकरभित्र चोरी भएको सुनका गहनाका साथै त्यसमा घरमालिकलाई चिठ्ठी लेखेर समाजमा मिलेर बस्नुपर्नेलगायतका सुझावहरू राखेको उनले बताए। उनले भने,‘प्रेसर कुकरभित्र सुनका गहनासहित चिठ्ठी थियो, चिठ्ठीमा घर मालिकलाई विकास निर्माणका कुरा गर्दा असहमति राख्नु भएको थियो। अब आइन्दा त्यस्तो असहमति नराख्नु होला, समाजमा मिलेर बस्नुहोला, सबैलाई मान मर्यादा गर्नुहोला लगायतका सुझावहरु लेखिएको थिए।’

चोरिएको सुन भेटिएपछि प्रहरीले मुचुल्का बनाई जनप्रतिनिधिको रोहवरमा सम्बन्धित व्यक्तिलाई बुझाएको पोख्रेलले बताए। घटनाबारे गाउँटोलकै मानिस हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ। ‘यस घटनामा वरपरकै मानिस हुन सक्ने भन्दै हामीले अनुसन्धान थालेका छौँ,’ डिएसपी पोख्रेलले भने।

प्रतिक्रिया दिनुहोस