३ अर्ब ५२ करोड रुपैयाँ नगद बोकेर भाग्दै गरेकी महिला सीमा नाकाबाट पक्राउ

काठमाडौं, पछिल्लो समय ठूलो रकमको कारोबार बैंकमार्फत गर्ने गरिन्छ । बोकेर लिएर हिँड्न झण्झट र चोरी वा लुटपाट हुने जोखिमका कारण मानिसहरु ठूलो रकमको लेनदेन बैंकिङ प्रणालीमार्फत गर्छन् । तर, एउटी महिला भने ३ अर्ब ५२ करोड रुपैयाँ नगद सहित पक्राउ परेकी छिन् । यी महिला रुसको आक्रमणको मार झेलिरहेको युक्रेनबाट भागेर जाने प्रयास गर्दै गर्दा पक्राउ परेकी हुन् ।

रुसको आक्रमणका कारण अहिले लाखौं मानिसहरु युक्रेन छोडेर अन्य देशमा भागेर गइरहेका छन् । यसरी भागेर अर्को देशमा शरण लिने शरणार्थीहरुको संख्या ३० लाखभन्दा धेरै भइसकेको छ । युक्रेनबाट शरणार्थीहरु बाहिर गइरहेको भिडमा एउटी सुन्दर र हट महिला पनि हंगेरीको शरणार्थी सीमामा पुगिन् । यी महिला त्यहाँ पुग्दा आफ्नो साथमा २९ मिलियन डलर नगद लिएर पुगेको बताइएको छ ।

यी महिला युक्रेनका एउटा ठूला बिजनेस टाइकुन र नेताकी पत्नी हुन् । डेलीमेलको रिपोर्टअनुसार यी महिलाले यति धेरै पैसा अमेरिकी डलर र युरोका नोटहरुको रुपमा लिएर पुगेकी थिइन् । उनले लिएर गएको पैसा हंगेरीको कस्टम डिपार्टकेन्टले समातेको छ । यो पैसा विवादमा रहिरहने युक्रेनका पूर्व सांसद इगोर कोटभित्स्कीकी पत्नी अनास्तासिया कोटभित्स्काको सामानको साथमा भेटिएको थियो ।

सामाजिक संजालमा पैसाको फोटो भाइरल भइरहेको छ । युक्रेनको स्थानीय मिडिया रिपोर्टका अनुसार पूर्वसांसदकी पत्नीविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ । एक समय कोटभित्स्की युक्रेनका सबैभन्दा धनी सांसद थिए । यद्यपि कोटभित्स्कीले अहिले आफ्नी पत्नीको सुटकेसमा २९ मिलियन डलर भेटिएको सम्बनिधत रिपोर्ट गलत भएको बताएका छन् ।

उनले आफ्नी पत्नी गर्भवती भएको बताउँदै यही कारण उनी देश छोडेर जाँदै गरेको दावी गरेका छन् । उनले आफ्नी पत्नीको साथमा २९ मिलियन डलर बराबरका डलर र युरोका नोट भएको कुरा झुटो भएको दावी गरे । कोटभित्स्कीले सामाजिक संजालमा लेखेका छन् ‘मेरो सबै पैसा युक्रेनमा बैंकमा जम्मा गरिएको छ । मैले त्यहाँबाट केही पनि निकालेको छैन ।’ यति भनिसकेपछि उनले आफ्नो सामाजिक संजाल खाता नै बन्द गरिदिएका छन् ।

यो मामिलामा अनास्तासियाको तर्फबाट भने कुनै सफाइ आएको छैन । रिपोर्टका अनुसार उनी हंगेरीका २ जना व्यक्ति र आफ्नी आमाको साथमा जाँदै थिइन् । ओबोजरेवाटेल अखबारका अनुसार अनास्तासियामाथि युक्रेनको भिलोक चेक प्वाइन्टमा आफूसँग भएको पैसाबारे जानकारी नदिएको आरोप छ । उनले जानकारी नदिए पनि हंगेरीका अधिकारीहरुले भने उनको साथबाट अरबौं रुपैउाँ धन बरामद गरे ।

कैयौं मिडिया रिपोर्टहरुमा कोटभित्स्कीले आफ्ना सहयोगीहरुको माध्यमबाट युक्रेनको आणविक र युरेनियमका खानीहरुलाई नियन्त्रण गर्ने दावी गरिएको छ । यद्यपि अब यसको एक हिस्सामा रुसले कब्जा गरेको छ । यो घटनापछि युक्रेनको ट्रान्सकारप्याथियन क्षेत्रको सीमामा तैनाथ गार्डहरुमाथि पनि कारवाही गरिने बताइउको छ । उनीहरुले घुस लिएर पैसा देशबाहिर लैजान दिएको आरोप छ ।

युक्रेनको राजधानी किभका प्रतिष्ठित व्यापारी सेयार खुशुतोभले कोटभित्स्कीको यो मामिलाको खुलासा गरेका हुन् । उनले भने ‘कस्टम अधिकारी घुसको बदलामा पैसा देशबाहिर लैजान अनुमति दिन्छन् । यसका लागि उनीहरु ३ देखि साढे ७ प्रतिशत कमिशन लिन्छन् ।’

प्रतिक्रिया दिनुहोस