इन्जिनियरिङ छाडेर बाख्रापालन रोजेका खनालको वार्षिक कमाइ २० लाख

रुपन्देही शुद्धोधनका सन्दीप खनालले २०७३ सालबाट व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका हुन् । एसके गोट फार्म बाख्रा फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालन सञ्चालन गरेका उनको फार्ममा हाल ४ सय बाख्रा छन् । उनले यो व्यवसायबाट वार्षिक झण्डै २० लाख रुपैयाँ आम्दानी गरिरहेका बताएका छन् ।

सन्दीप भारतकाे देहरादुनमा रहेकाे नीति विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङको पढाइ बीचैमा छोडेर यो व्यवसायमा हाम फालेका हुन् । ‘बाख्रापालन सुरु गर्दा घरपरिवार र छिमेकीहरूले अब यसको भविष्य बिग्रियो, बहुलायो भनेर चिन्ता गर्नुभएको थियो,’ सन्दीपले भने ।

उनले व्यवसाय सुरु गर्दाको क्षण सम्झिए, ‘हजुरबाले दुःखकष्ट गरेर इन्जिनियरिङ पढाउनुभयो । मैले इन्जिनियरिङ पढाइ सकेर बाख्रा पाल्न थालेँ । मेरो काम देखेर परिवार सबै चकित र चिन्तित भए । अहिले भने मैले यो व्यवसायबाट राम्रै कमाइ गर्न थालेपछि परिवारका सबै खुसी भएका छन् । व्यायसायिक रूपमा बाख्रापालन सुरु गर्दा परिवारले पनि गाउँलेको कुरा सुनेर धेरै गाली गर्नुभयो ।’

सन्दीपले ६ वर्षको उमेरमा नै आमाबुबा गुमाए । आमाबुबा गुमाएपछि ८५ वर्षीय हजुरबुबा बुद्धिसागर खनालको संरक्षणमा उनी हुर्केबढेका हुन् । जागिर खानभन्दा पनि व्यावसायिक पेसामा उनी लाग्न चाहन्थे । आफ्नो इच्छा पूरा गर्नका लागि नै उनले पढाइ छाडेर भए पनि व्यवसाय सुरु गरे ।

बाख्रापालनमा उनका भाइ सञ्जय खनालले साथ दिए । बिस्तारै बाख्रापालन व्यवसाय फस्टाउँदै गयो । दुवै जनाको मिहिनेतले गर्दा व्यवसायबाट सफलता हात पार्न थाले । व्यवसायबाट राम्रो कमाइ हुन थालेपछि घरपरिवारले पनि राम्रो मान्न थाले ।

पहिला ‘धेरै पढेर बहुलायो भन्ने तिनै गाउँलेहरू अहिले दाजुभाइको प्रगति देखेर चकित हुन थालेका छन् । अहिले त उनीहरूकाे चर्चा जिल्लामा समेत हुन थालेको छ ।

‘फार्ममा खरी, तराई, जमुना पारी, बिटो, अज्मेरी, बोयर र क्रस जातका बाख्रा पालेका छौँ । बाख्रापालनमा हामीले करिब २ करोड रुपैयाँ लगानी गरिसकेका छौँ,’ सन्दीपले बताए । वार्षिक रूपमा १ करोडभन्दा बढीका खसीबोका बिक्री गर्छन् यी दाजुभाइ । सबै खर्च कटाएर वार्षिक २० लाख खुद आम्दानी गर्छन् । साथै बाख्रालाई खुवाउनका लागि ७ बिघा जमिनमा घाँससमेत लगाएका छन् ।

उनको फार्मबाट उत्पादन भएका खसी–बोका कपिलवस्तु, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, दाङ, प्युठान, स्याङ्जालगायतका जिल्लाका बजारमा बिक्रीवितरण हुने गरेको छ ।

फार्म सञ्चालनका लागि उनले कृषि विकास बैंकबाट कर्जा लिएका छन् । उनले सञ्चालन गरेको बाख्रा फार्मले हाल पाँच जनालाई रोजगारी पनि दिएको छ । घरपरिवार पनि रातदिन काममा खटन् थालेका छन् । पहिले उनले गरेको व्यवसायलाई नराम्रो मान्नेहरू पनि अहिले बाख्रापालन गर्ने सोच बनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस