पुटिनकी ‘प्रेमिका’लाई स्विट्जरल्यान्डबाट निष्कासन गर्न ६१ हजार जनाले गरे हस्ताक्षर

मस्को । स्विट्जरल्यान्डमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनकी प्रेमिका भएको शंका गरिँदै आएकी रुसी महिलालाई देशबाट निकाल्न (‘डिपोर्ट) का लागि आवेदन पेस भएको छ । आवेदनमा ६१ हजार मानिसहरूले हस्ताक्षर समेत गरिसकेका छन् ।

पूर्व ओलम्पिक जिम्न्यास्ट तथा राजनीतिज्ञसमेत रहिसकेकी एलिना कबेभा नामकी ती महिलालाई निष्कासन गर्ने अभियान रुसी, बेलारुसीयन र युक्रेनियन नागरिकहरूले सुरु गरेका थिए आवेदनपत्र अङ्ग्रेजी, फ्रेन्च र जर्मनमासमेत लेखिएको छ । जसमा ३८ वर्षीया एलिनालाई पुटिनकी सबैभन्दा प्रिय प्रेमिका भनेर व्याख्या गरिएको छ ।

पत्रमा पुटिनले लाखौँ मानिसहरूको जीवन विनाश गरिरहँदा स्विट्जरल्यान्डले चाहिँ एलिना र उनका परिवारलाई देशमा आरामले बस्न दिइरहेको आरोप लगाइएको छ ।एलिनाको सन् २००८ देखि नै पुटिनसँग प्रेम सम्बन्धमा रहेकाबारे चर्चा चल्दै आएको छ । त्यसबेला रुसी पत्रिका दैनिक ‘मोस्कोभस्की कोरेस्पोन्डेन्ट’ले एलिना र पुटिनले स्वयम्बर गरेको खबर प्रकाशित गरेको थियो । तर, यस लगत्तै उक्त पत्रिका दैनिक बन्द गरियो ।

त्यसपछि २०१५ मा स्विस दैनिकले लेखेको अर्को खबरमा एलिनाले पुटिनको बच्चालाई जन्म दिएको उल्लेख गरिएको थियो । तर रुसी प्रशासन क्रेम्लिनले भने पुटिन उक्त बच्चाका बाबु भएको कुरा अस्वीकार गर्दै आएको छ ।

खेलाडीका रूपमा सक्रिय एलिना पछि गएर राजनीतिमा लागेकी थिइन् । उनी २००७ देखि २०१४ सम्म रुसी विधानसभाकी उपसभामुख रहेकी थिइन् । पछि उनी क्रेम्लिनसँग सम्बन्धित राष्ट्रिय मिडिया ग्रुपकी निर्देशक पनि बनेकी थिइन् ।

यअसघि विदेशी मामिलामा सँधै चुपचाप बस्ने गरेको स्विट्जरल्यान्डले पनि गत महिना पहिलोपटक रुस विरुद्ध प्रतिबन्ध जारी गर्न विश्व समुदायलाई साथ दिएको छ । तर प्रतिबन्ध जारी गरिरहँदा पनि स्विट्जरल्यान्ड अझै तटस्थ राष्ट्रकै रूपमा कायम रहने अमेरिकाका लागि स्विस राजदूत जेकेरले बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुनको सम्मानमा स्विट्जरल्यान्ड जस्ता साना मुलुकका लागि महत्वपूर्ण कदम हुन सक्ने हुनाले मात्र प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताएका थिए । तीन दशकसम्म ल्युडमिला स्क्रेबनेभासँग विवाहित पुटिन आफ्नो व्यक्तिगत जीवन अत्यन्तै गोप्य राख्ने गरेका छन् । इन्डिपेन्डेन्टबाट ।

प्रतिक्रिया दिनुहोस