धुलो उडेर सवारी चलाउन नसकेपछि यातायात व्यवसायीद्वारा सडक अवरुद्ध

सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् ।

“धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ”, अटोचालक धीरज कार्कीले भन्नुभयो, “सवारी दुर्घटनाका घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको छ । आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ ।”

कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उनले बताए । वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताए ।

स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन् । हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन् । धुलोका कारण अधिकांशमा स्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ । सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ ।

“सडक निर्माणको सम्झौतामै कम्पनीले पानी छर्कने व्यवस्था राखिएको हुन्छ”, स्थानीय व्यवसायी भन्छन्, “निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ ।” वडाध्यक्ष दिलबहादुर बुढाले निर्माण कम्पनीलाई पानी छर्कनका लागि आग्रह गर्दा केही दिन पानी छर्कियो, त्यसपछि पानी नछर्कँदा सडकमा धुलो उड्न थालेपछि समस्या भएको जानकारी दिए ।

निर्माण कम्पनीका कर्मचारी नारायण कँडेलले पानी छर्कनका लागि ट्याङ्की पठाइएको बताए । “बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ । सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उनले भने, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ । अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ ।”रिपोर्टर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस