के साच्चै पुटिन र जेलेन्स्की आमने-सामने हुन लागेका हुन् ? युद्ध अन्त्यका लागि भोलि ? (भिडियो सहित )

युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ। टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा मंगलबार वार्ता गर्ने सहमति भएको हो।

स्तानबुलमा युक्रेन र रुसका वार्ता टोलीबीच हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ। युद्ध अन्त्यका लागि आफूहरु तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएको परिवेशमा वार्ता हुन लागेको हो। रुस र युक्रेनबीच हालसम्म भएको वार्ताबाट ठोस निष्कर्ष निकाल्न सकिएको छैन।

निकै अर्थपूर्ण रुपमा हेरिएको यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफै उपस्थिती हुन् लागेका हुन् भन्ने विषय खुलाईएको छैन् । यस अघि जेलेन्स्कीले पुटिनसँग सिधा संम्वाद गर्न चाहेको बताएका थिए ।

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार – युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्। उनले रुससँगको अर्को चरणको वार्तामा सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।

वार्ता अघि उनले भने, ‘ सुरक्षा ग्यारेन्टी हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ। स्पष्टरूपमा हाम्रो लक्ष्य भनेको शान्ति र देश सकेसम्म चाँडो सामान्य जीवनमा फर्कनु हो।’ यसअघि जेलेन्स्कीले स्वतन्त्र रुसी सञ्चारमाध्यमलाई दिएको ९० मिनेटको अन्तर्वार्तामा आफू रसियासँग शान्ति सम्झौताअन्तर्गत तटस्थ स्थितिमा वार्ता गर्न तयार रहेको बताएका थिए । उनले तेस्रो पक्षले यसको ग्यारेन्टीमा सामेल हुनुपर्ने वा जनमत संग्रह गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार भिडियो कलमार्फत दिइएको उक्त अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘सुरक्षा ग्यारेन्टी र तटस्थता, हाम्रो राज्यको गैर-आणविक स्थिति, हामी यसका लागि तयार छौं। यो हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ।’ युक्रेनका राष्ट्रपतिले रुसी भाषाको अन्तर्वार्तामा रुसी आक्रमणले युक्रेनमा रुसी भाषा बोलिने सहरहरु ध्वस्त भएको बताए । युक्रेनको सैन्य गुप्तचरी निकायका प्रमुखले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया सिर्जना गर्न खोजेको’ बताएका छन्।

प्रतिक्रिया दिनुहोस