माओवादीलाई पखाल्दा-पखाल्दा बागमती नै मैलियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै नसुध्रिएको टिप्पणी गरेका छन् ।

अहिलेसम्म माओवादीले पिरोल्न नछाडेको भन्दै ओलीले प्रचण्डलाई सच्याउन सकिछ कि भनेर प्रयास गरेको तर असफल भएको बताए । शनिबार पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको अधिवेशन उद्घाटन गर्दै उनले माओवादीले युवाहरुलाइ समाजवादको सपना देखाएर अल्मल्याएको बताए ।

‘हाम्रो बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा । घरमै ल्याएर कोशिस गरियो । तर अन्तिममा …’ उनले भने । ओलीले नीलो श्यालले जंगलमा सबैलाई भ्रम छरेर काबुमा राखेको कथा सुनाउँदै प्रचण्डले पनि त्यसै गरेको बताए ।उनले कतिपय युवाहरु निर्दोष भए पनि प्रचण्डलाई पत्याएर गलत बाटोमा लागेको पनि बताए ।

‘युवाहरुको गल्ती प्रचण्डजस्तालाई पत्याए’ उनले भने, ‘अलि अलि त मैले नै पत्याएँ । सपार्न सकिन्छ कि भन्ने आँट आयो । मान्छेले जंगलको बाँदर समातेर तालिम दिन्छ । सुगालाई बोल्न सिकाउँछ, यत्तिको मान्छे, कपालमा जेलसेल लगाएर बसेको मान्छे, कसो नसकिएला भनेको अन्तिममा ठाँडो घाँटी लगाएर हु हु गरेर कराए । जहाँको तहीँ ।’

प्रतिक्रिया दिनुहोस