‘सबै पार्टीहरुले गठबन्धन गरेपनि एमाले एक्लैले चुनाव लडेर जित्छ’ : अध्यक्ष ओली

काठमाडौं ।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमाले एक्लैले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचनसबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।

अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउँदै अध्यक्ष ओलीले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको जिकिर गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले ग¥या छैन चुनावमा । अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन ।

शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो ।’

उनले थप भनेका छन्, ‘तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्या छु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ । त्यसको तयारी हाम्रा सबै कमरेडहरुले गर्नुपर्छ आ–आफ्नो ठाउँबाट । कलम चलाउन जान्नेहरु कलम लिएर उठ, बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ,

उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ । सबै एकतिर लागेर के गर्ने ? नेपाली जनताको फिप्टी पर्सेन्ट भन्दा माथि हामीसँग छ । हामीसँग हुनुपर्छ र हामीले त्यस हिसाबले जनतामा जानुपर्छ ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उनले स्पष्ट पारे । उनले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गरे ।

उनले माओवादीलाई नक्कली राष्ट्रवादीको आरोप लगाउँदै भने, ‘नेकपा (एमाले)ले एउटा फरक धारको नेतृत्व गरिराखेको छ देशमा । नेकपा (एमाले)ले नेतृत्व गरेको धार भनेको देशभक्तिको धार हो । राष्ट्रवादको धार हो । राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धार हो । एमसीसी राष्ट्रघाती छ भनेर कराउने, बाहिर कार्यकर्ता उचाल्ने, सडक भत्काउन लगाउने, ढुंगा हान्न लगाउने, मारामार गर्न लगाउने, भित्र आफुहरुले हुन्छ–हुन्छ भनेर हात उठाएर तालि बजाएर पास गराउने, एकथरीलाई पास गर्नै हुँदैन भनेर सडकमा उतार्ने । आफैले सडकमा नारा लगाउँदा ए, त्यो चाहीँ नारा नलगाउ भन्ने सुटुक्क एमसीसीलाई पत्र लेख्ने अनि यो पत्र बाहिर कसरी आयो भन्ने ?’

प्रतिक्रिया दिनुहोस