चन्द्रागिरी केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा ३६ जनाको रुवाबासी, उद्दार गर्न प्रहरी घटनास्थलमा पुग्दा…

काठमाडौं :चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ । केवलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केवलकार भित्र थुनिँदा कोलाहल मच्चिएको थियो ।

घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केवलकारबाटै चिच्चाएका थिए ।

केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो ।

‘साढे दुई बजेतिरको घटना हो । केवलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’ प्रहरी निरीक्षक मनोज श्रेष्ठले न्युज कारखानासँग भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’

उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । ‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।

विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुराेमा रहेकाे भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए ।

यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उनले विद्युतमा समस्या आएका कारण केवलकार छोटो समयको लागि रोकिएको दाबी गरे । ‘केवलकारमा त्यस्ताे ठूलाे समस्या आएको होइन । विद्युतमा समस्या आएका कारण ५-६ मिनेट केवलकार रोएिको थियो । त्यतिबेला म पनि माथि नै अड्किएको थिएँ,’ शाहले न्युज कारखानासँग भने । उनले हाइभोल्टेजका कारण ट्रान्समिटर प’ड्किदा केवलकार रोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस