श्रीमतीले कि चुरोट र रक्सी छोड नत्र घर छोड भनिन्, पति १४ वर्ष देखि घर छोडेर बाहिर..

६० वर्षका एक व्यक्ति विगत १४ वर्षदेखि एयरपोर्टमा बसिरहेका छन् ।उनले आफ्नो घर छोडिदिएका छन् । यी व्यक्तिका अनुसार उनकी पत्नीले उनलाई रक्सी र चुरोट छोड्न भनेकी थिइन् । त्यसैले उनी घर छोडेर एयरपोर्टमा बस्न थालेका हुन् । यी व्यक्ति चीनका अुन् र उनको नाम वेइ जियांगुओ हो । जियांगुओले आफूलाई घरमा कुनै स्वतन्त्रता नभएकोले अब घर फर्केर नजाने बताए ।

वेइ विगत १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् । सुरुवातमा उनी केही दिन रेलवे स्टेशनमा पनि सुतेका थिए । जियांगुओका अनुसार उनी एयरपोर्टमा आफ्नो मर्जी अनुसार खानपिन गर्न सक्छन् । उनले चाइना डेलीसँग भने ‘अब म घर फर्केर जान्न किनकि त्यहाँ कुनै स्वतन्त्रता छैन ।’

जियांगुओकी पत्नी र साथमा परिवारले पनि उनलाई घरमा बस्नु छ भने रक्सी र चुरोट छोड्नुपर्छ भनेका थिए । यस्तोमा उनले घर छोड्न स्वीकार गरे तर रक्सी र चुरोट छोडेनन् । जियांगुओको घर एयरपोर्टबाट करिब १९ किलोमिटर टाढा छ । उनले २००८ मा घर छोडेका थिए ।

हालै एउटा भिडियोमा जियांगुओले आफूलाई एयरपोर्टमा रहन मन पर्ने किनकि यहाँ चिसो नलाग्ने बताएका थिए । जियांगुओले यहाँ आफ्नो सानो किचन पनि बनाएका छन् । हरेक महिना पाउने सरकारी सब्सिडीबाट उनको खर्च चल्छ ।

जियांगुओले एयरपोर्टमा आउने कुनै पनि यात्रीलाई असुविधा वा समस्या हुने कुनै काम गर्दैनन् त्यसैले त्यहाँका कर्मचारीले पनि उनलाई त्यहाँबाट हटाएका छैनन् । आफ्नो स्लिपिङ ब्याग र केही सामानको साथमा उनी विगत १४ वर्षदेखि बेइजिङ एयरपोर्टमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस