पन्त, सिंह र धानुक एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने

सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएका तीनै जनालाई आजै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न लगाउने कार्यक्रम रहेको प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीले जानकारी दिए ।

सरकारबाट आधिकारिक निर्णय आइनपुगेको भन्दै आउनेवित्तिकै विशेष समारोहको आयोजना गरिने उनले बताए ।गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । जसले गर्दा उनीहरूको नियुक्तिमा ढिलाई भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।

बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । समितिले यसअघि सिफारिस गरेका तिनै जनाको नाम सदर गरेर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस