तनहुँका महिला जनप्रतिनिधि भन्छन्- उपमा बस्देनौँ, प्रमुखमा दाबी गर्छौँं

गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्यून रह्यो । तनहुँको १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए । ८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भइन् । एकाध वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए । महिला कोटामै सीमित भए । नौ स्थानीय तह र ८४ वडाको प्रमुख पदमा पुरुष नै हावी भए । सबै राजनीतिक दलले महिलालाई प्रमुख पदमा पुगेर नेतृत्व गर्ने अवसर नै दिएनन् ।

निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै छ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको । यतिबेला देशभर स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधिले माहोल तातिरहेको छ । सम्भावित उम्मेद्‌वारहरूको चर्चा सुरु भएको छ । स्थानीय तह र वडाको प्रमुखमा पुरुषकै चर्चा बढी हुने गरेको छ ।

तनहुँका महिला जनप्रतिनिधिले अब उपमा नभएर प्रमुख पदमा उम्मेद्‌वार दिने उद्घोष गरेका छन् । वडासदस्यले वडाध्यक्ष र स्थानीय तहको उपप्रमुखले प्रमुखमा दाबी गर्ने उद्घोष गरेका हुन् । शुक्रबार सञ्चारिका समूह तनहुँले दमौलीले आयोजना गरेको जनप्रतिनिधि महिलाको पाँच वर्षे अनुभव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाका महिला जनप्रतिनिधिले वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा दाबेदारी प्रस्तुत गर्ने बताएका हुन् ।

घिरिङ गाउँपालिका–२ की वडासदस्य सनम थापाले पाँच वर्षको सिकाइले यसपालिको निर्वाचनमा वडाध्यक्षको दाबी गर्ने बताइन् । ‘घरको समस्या समाधान गर्दै जनताको सेवा गरेका छु । यसपालि वडाध्यक्षमा उम्मेद्‌वारी दिने हो ।’ उनी आफू वडाध्यक्ष बन्नलाई योग्य भएकाले दाबी रहने उल्लेख गरिन् ।

शुक्लागण्डकी नगरपालिका–९ की वडा सदस्य गीता महतले पनि दयाको पात्र भएर उपमा सीमित नहुने बताइन् । ‘उप मात्र हैनौँ प्रमुख हुन सक्ने क्षमता छ हामीसँग । अघिल्लो निर्वाचनमा दयाको पात्र बनाइयो । यसपालि पार्टीभन्दा फरक भएर क्षमतावान् महिलालाई अवसर दिऔँ’, उनले भनिन् । कार्यपालिका सदस्यसमेत रहेकी महतले पुरुष सरह प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल घिमिरेले स्थानीय तहमा पुरुषहरू हावी भएको दाबी गरिन् । ‘महिलालाई सहभागी मात्र गराइएको छ । समाज सुध्रिएको छैन । लडाईं धेरै लड्न बाँकी छ । पार्टीले टिकट दिएमा अध्यक्ष भएर काम गर्न सक्षम भएका छौँ । प्रमुखले भन्दा धेरै काम गरेका छौँ । पार्टीबाट अनुमोदन भएर टिकट भएको खण्डमा जनताबाट अनुमोदन भएर निर्वाचन जित्न सकिन्छ भन्ने छ’, उनले भनिन् । जनताको मन जित्ने गरेर गाउँपालिकालाई हाँक्न सक्ने खुबी भएको घिमिरेले दाबी गरिन् ।

व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले पाँच बर्षको अनुभव र सक्षमताका कारण आफुले मेयरमा दाबी गर्ने बताइन् । ‘चुप लागेर बस्दैनौँ । मेयरको टिकट खासेर पनि लिने हो । मुकविला गर्ने हो । मेयरको आकांक्षी धेरै भएकाले टिकट कसलाई दिने पार्टीकै हातमा छ’, उनले भनिन् । आफूसँगै राजनीति गरेका पुरुषहरु प्रदेश र संघमा पुगेर नेतृत्व गरिरहेकाले उपमेयरमा निर्वाचन लड्ने उनले बताइन् ।

समाज अझै पितृसतात्मक भएकाले महिलामैत्री नभएकोमा उनको गुनासो छ । महिलालाइै झोला बोकाएर निर्वाचन प्रचासप्रसारमा प्रयोग भइरहेको बेला प्रमुख या उपप्रमुख महिला हुनैपर्ने बाध्यकारी नियमले भने स्थानीय तहमा महिला सहभागिता बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस