राप्रपाले कांग्रेस र माओबादी भन्दा धेरै सिट जित्‍छ – लिङ्‌देन

जनकपुरधाम- आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा अन्य दलभन्दा बढी सिट आफ्नो पार्टीले जित्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‌देनले दाबी गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा सञ्‍चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्‌देनले भने ‘हाम्रो पार्टीले चारवटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी सिट जित्नेछ ।’

उनले भने, ‘राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रुपमा विकाससँगै जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन हाम्रो एजेण्डा रहेकोले जनताको आफ्नो पार्टी आर्कषण बढेको हो । उनले अघि थप्दै भने, ‘भ्रष्टाचाररहित स्थानीय तह र देश निर्माण गर्नु हाम्रो प्रमुख अभियान हो । हामीले निर्वाचनको तयारी ढिला तयारी गरेपनि जे सक्छौँ त्यो गर्छौ अधिकांश ठाउँमा उम्मेद्‌वारी दिनेछौँ, पहिलाभन्दा बढी नै सिट जित्ने छौं ।’

अध्यक्ष लिङ्‌देनले भने ‘मधेस प्रदेशमा हाम्रो पार्टीले आगामी निर्वाचनमा हरेक स्थानीय तहमा बढीभन्दा बढी उम्मेद्‌वारी उठाउने तयारी रहेको भन्दै जसरी हामीले स्थानीय तहलाई नमूना बनाउने अभियान चलाएका छौं, यदि मुलुकको जिम्मेवारी पायौं भने कतिको परिवर्तन होला त्यो परिकल्पना जनता आफैले गर्नेछन् ।’

उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै उनले भने ‘जिल्ला कमिटी र स्थानीय तहको समितिलाई आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सक्छन तर गठबन्धन हामी कुनै दलसँग गर्दनौं ।’

राप्रपाले जितेका स्थानीय तहमा निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था, स्वास्थ्य बीमा, कृषकलाई प्रत्यक्ष रुपमै मल खाद्य, विउविजन वितरण गरिने, नमूना स्थानीय तह निर्माण गरिने, ज्येष्ठ नागरिकलाई घर दैलोमै गएर मासिकरुपमा स्वास्थ्य परिक्षण र विभिन्‍न सेवासुविधा दिइने घोषणासमेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस