चार कोठे घर बनाउन कहाँ कस्तो छड प्रयोग गर्ने? कति लाग्छ खर्च?

घर बनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि बलियो र राम्रो नै बनाउने सोचमा हुनुहुन्छ होला । त्यसो भए तपाईंले बिभिन्न पक्षहरु ध्यानमा राख्न पर्ने हुन्छ । कहिले काही सानो कुराले पनि पछी पछुताउनु पर्ने हुन्छ । जस्तै हामीले महत्वपूर्ण पक्षलाई ध्यान मा राखेनौ भने घरको बनावट कमजोर हुनेमात्र होइन, भूकम्पको अत्यधिक जोखिममा रहेको नेपालजस्तो देशमा ज्यानकै जोखिम पनि हुन सक्छ ।

सामान्यतया नेपालमा दुई प्रकारका घर प्रचलनमा देखिन्छन् । गाउँमा माटो र ढुंगा प्रयोग गरी घर बनाइन्छ भने सहरी क्षेत्रमा सिमेन्ट तथा छडको प्रयोग गरेर आरसिसी घर बनाउने चलन छ । हुन त पछिल्लो समयमा यातायाता सञ्जालको बिस्तारसँगै आधुनिक निर्माण सामग्रीमा पहँुच बढेपछि गाउँ क्षेत्रमा पनि सिमेन्ट तथा छड प्रयोग गरेर घर बनाउन थालिएको छ ।

माटो र ढुंगाको प्रयोग गरी बनाइएका परम्परागत शैलीका घरभन्दा सिमेन्ट तथा छडको प्रयोगबाट बनाइएका घर तुलनात्मक रूपमा बलियो र आकर्षक मानिन्छन् । माटोका घर सामान्य र कम लागतमा बनाउन सकिन्छ भने सिमेन्ट र छडको प्रयोग गरी बनाइएका घर बनाउँदा अलि बढी नै ध्यान दिनुपर्छ । यस्तो घर बनाउँदा लागत पनि बढी लाग्छ ।

घर निर्माण गर्दा सबैभन्दा महत्वपूर्ण कामहरु :-

१. घडेरीको छनोट

यसका लागि प्राविधिक लगाएर जग्गा र माटोको परीक्षण गर्नुपर्छ । जमिन बलियो छैन भने भूकम्पका कारण घरमा धेरै क्षति पुग्ने सम्भावना हुन्छ । घर निर्माण गर्दा माटोको परीक्षण गर्नु जरुरी छ । कमजोर माटो भएको, भिरालो जमिनमा घर बनाउँदा जमीनले धेरै भार धान्न नसक्ने भएको हुँदा त्यस्तो ठाउँमा आवासका लागि सामान्य किसिमको घर बनाउँदा उचित हुन्छ ।

२. घरको डिजाइन:

दोस्रो चरणमा घरको डिजाइन कस्तो बनाउने भन्ने कुरा आउँछ । घरको डिजाइन मुख्य गरेर दुई किसिमको हुन्छ, जसलाई आर्किटेक्चरल र स्ट्रकचरल डिजाइन भन्ने गरिन्छ । आर्किटेक्चरल डिजाइनमा घरको बनोट, कोठा, भान्साकोठा, चर्पीको ढाँचा, झ्याल, ढोका कस्तो प्रकारका राख्ने र कहाँ राख्नेलगायतका कुरा पर्छन् ।

स्ट्रक्चरल डिजाइनअन्तर्गत जग कति फिटको हाल्ने, पिलर कति मोटाइमा बनाउने, गाह्रो कसरी लगाउने, रिङ कस्तो प्रयोग गर्ने, रडको मोटाइ कति गर्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोगजस्ता कुरा पर्छन् । आवासीय घरमा १२ गुणा १२ इन्चको पिलर राखी तीन तलासम्मको घर बनाउँदा उपयुक्त हुन्छ । तर १२ गुणा १२ इन्चको पिलर राख्ने अनि ५-६ तलासम्मको घर बनाउने गर्नाले घरमात्रै होइन, घरमा बस्ने मानिस पनि जोखिममा पर्छन् । हामीले २०७२ सालको भूकम्पलाई चाहेर पनि बिर्सन सक्दैनौं । त्यस्तै भूकम्प फेरि नदोहोरिएला भन्न पनि सकिन्न ।

३. खुला भुइँतला:

कंक्रिटको घर निर्माण गर्दा अर्को महत्वपूर्ण कुरा भनेको भुइँतला खुला गरेर माथिल्लो तल्लामा मात्रै ठूलो गाह्रो लगाउनु हो । यस्तो गर्दा माथिल्लो तलाको भार बढी भई घर धराप बन्न सक्छ । त्यसैले घर बनाउँदा सकेसम्म भार कम हुने गरी बनाउनुपर्छ । भुइँतलामा पसल, सो-रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ अथवा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटोलगायतका कारणले गर्दा भूकम्पमा त्यस्तो तला नै थिचिएको भेटिएको छ ।

४. बिम/पिल्लर :

घर निर्माणकै क्रममा अर्को महत्वपूर्ण कुरा बिममा डन्डीको प्रयोग हो । डन्डीलाई पिलरको डन्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्दा बलियो हुँदैन । पिलर सिस्टम र आधुनिक प्रकारका निर्माणसम्बन्धी जानकारी नभएका डकमी प्रयोग गरी घर निर्माण गराउँदा वा इन्जिनियरको प्रत्यक्ष निगरानी नगराउँदा यस्ता समस्या निम्तिन सक्छन् ।

त्यस्तै डन्डी जोड्दा जोडाइको लम्बाइ पुग्ने गरी जोड्नुपर्छ । त्यति मात्र नभई डन्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु हुँदैन । यस्तै डन्डीको मात्रा अलिक धेरै राख्नुपर्छ । भुइँतलामा त झनै बढी डन्डीको प्रयोग गर्नुपर्छ ।

५. ढलान:

घर बनाउँदा अर्को महत्वपूर्ण कुरा भनेको ढलान हो । ढलान गर्दा बालुवा, गिट्टी र सिमेन्ट राम्रो गुणस्तरीय हुनु पर्छ । ढलान निकै पातलो गर्नु हुँदैन र अति बाक्लो पनि गर्नु हुँदैन । ढलान गर्दा सिमेन्ट पानीको सम्पर्कमा आएको आधा घण्टाभित्र ढलान फर्मामा राखिसक्नुपर्छ ।

६. कंक्रिट निर्माण:

घर बनाउँदा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षमा कंक्रिट निर्माण पनि पर्छ । सही अनुपातमा सिमेन्ट, बालुवा र गिटीको मिश्रण बनाई त्यसमा पानी मिसाएर कंक्रिट बनाउने गरिन्छ । यसरी कंक्रिट बनाउँदा कति भारवहन क्षमताको चाहिने हो त्यही अनुसार सिमेन्ट, बालुवा, रोडा र पानी मिलाउनुपर्छ । यो अलि बढी नै प्राविधिक कुरा भएका हुनाले यसका लागि इन्जिनियरसँग राम्ररी परामर्श गर्नु आवश्यक हुन्छ । हरेक संरचनाले लिनुपर्ने भारको हिसाब गरेर कुन क्षमताको कंक्रिट चाहिन्छ त्यस्तै प्रकारको कंक्रिटको छनोट गर्नाले निर्माण सुरक्षित हुन्छ ।

७. ठेकेदार:

घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन गर्नु पनि महत्वपूर्ण कुरा हो । तालिम प्राप्त ठेकेदारको प्रयोग सही हुन्छ । घर निर्माणसम्बन्धी सम्पूणर् कुराको ज्ञान भएको अनुभवी ठेकेदार प्रयोग गर्नुपर्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमा गुणस्तरीय काम गर्न सकिन्छ ।

हामीले केवल माथिका कुराहरु ध्यानमा राखेर घर बनायौँ भने पनि, बलियो र राम्रो घरको अपेक्षा गर्न सकिन्छ । यि माथिका उपाय उपनायौँ भने राम्रो र बलियो घर मात्र नभए घरमा लाग्ने लागत नि घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस