सेनामा जस्तै प्रहरी र सशस्त्र प्रहरीमा १६ बर्षे पेन्सनको प्रस्ताव, गृहमन्त्रीले देखाए सक्रियता

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ।प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्थाका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन्।

मन्त्री खाणको सहमतिसँगै उक्त प्रस्ताव सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी गरिएको स्रोतको भनाइ छ। यो प्रस्ताव स्वीकृत भए दुवै प्रहरी संगठनमा तल्लो दर्जाका प्रहरीले पेन्सन अगावै पाउन थाल्ने छन्।

प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मको १६ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

सशस्त्र प्रहरीमा २०६० चैत २६ गतेभन्दा पछि भर्ना भएकाहरुको पेन्सन अवघि २० वर्ष बनाइएको थियो। अब भने दर्जाअनुसार १६ देखि २० वर्षे पेन्सन अवधि बनाउने प्रक्रिया सुरु गरिएको छ।

परिचरदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्न प्रस्ताव गरिएको भने सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र सशस्त्र प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको पेन्सन भने २० वर्षमै हुने व्यवस्था गर्न माग गरिएको छ।

प्रहरी जवानले १६ बर्षे पेन्सन कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिट हाल सर्वोच्च अदालतमा विचाराधिन छ।

प्रतिक्रिया दिनुहोस