म प्रधानमन्त्री नभएको भए ‘भ्युटावर’ बनाउँने सोच नै आउँदैनथ्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि आफ्नो पार्टीको सरकार नभएको भए ‘भ्युटावर‘ बनाउने सोच नै नआउने बताएका छन्।

अस्पताल र विद्यालय बनाउनुको सट्टा नेताहरु अनावश्यक ‘भ्युटावर‘ बनाउने काममा लागेको भन्दै आलोचना भइरहेको बेला ओलीले यस सम्बन्धी अवधारणको अपनत्व लिएका हुन्।

‘एमालेको सरकार बन्दैनथ्यो भने यतिको भ्युटावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणयता भन्ने हो भने आउने थिएन। किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए‘, मंगलबार तिलोत्तमा नगरपालिकाको व्यवसायिक बहुउद्देश्यीय भवन (भ्युटावर) उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने।

ओलीले एमाले सरकार आएपछि देशमा विकास हुने गरेको बताए। ‘हामी सरकारमा आएपछि देशभरिमा के भयो, देशको अवस्था। भारतबाट मात्रै निर्भर भइरहेको ठाउँमा चीनतिरबाट यातायात पारवाहन सन्धि सम्झौताहरु गर्ने, आवागमन दुवैतिरबाट खोल्ने, नाकाहरु खोल्ने। अहिले उत्तरका जिल्लाहरु पनि दुर्गम रहेका छैनन्। दुर्गमलाई पनि हामीले सुगम बनाएका छौँ‘, उनले भने।

उनले २०५१ सालमा एमालेको सरकार बन्दाखेर हामीले ‘आफ्नो गाउँ आफैं बनाऔँ‘ अभियान लगेर गाउँगाउँमा विकासको बेग्लै अभियान थालेको बताए। पछिल्लो पटक सरकारको नेतृत्व गरेको तीन वर्षमा विकासका लागि अन्तरिक्षमा आफ्नो स्पेस कायम गर्नेदेखि समुद्रमा अधिकार स्थापित गरिएको उनले बताए।

आफूहरुले हामीले जल, आकाश, अन्तरिक्ष, जमिन, उद्योग, कृषि, पर्यटन, पूर्वाधार विकास, बिजुली उत्पादन, वितरण, आईटीको प्रयोग, डिजिटल नेपाल बनाउने कुरामा उन्नति गरेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस