मिठो खाना र पैसाको लोभमा युक्रेनविरुद्ध लड्न तयार सिरियाली भाडाका लडाकु!

काठमाडौं। रुसले युक्रेनमा आक्रमण गरेको ५ हप्ता पुगिसकेको छ। युद्ध रोकिने कुनै छाँटकाँट देखिएको छैन।युद्धका क्रममा आफ्नो १३ सय ५१ जना सेनाको मात्र ज्यान गएको रुसको दाबी छ। तर सो तथ्याङ्कलाई पश्चिमेली राष्ट्रहरुले स्वीकार गर्दैनन्।

नेटो तथा अमेरिकाका अनुसार युद्ध सुरु भएयता अहिलेसम्म रुसको ७ देखि १५ हजार सैनिक मारिएका छन्युक्रेनमा आक्रमण गरेका कारण रुसमाथि पश्चिमा राष्ट्रले कडा आर्थिक प्रतिबन्ध पनि लगाएका छन्। बारम्बार रुसी आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ।

उता रुसमै पनि युद्धको विषयलाई लिएर राष्ट्रपति भ्लादमिर पुटिनको सरकार आलोचिन बनिरहेको छ। यस्तोमा आफ्ना सेनाको ज्यान रक्षा गर्न रुसलाई ठूलो दबाब परेको छ।

आफ्नो सेनाहरु युक्रेनमा मारिएको रुस हेर्न चाहँदैन। यही कारण रुस भाडाको लडाकु खोजिरहेको छ। त्यस्ता लडाकु त्यहीँ भेटिन्छन् जहाँ चरम आर्थिक संकट र भोकमरी होस्। सिरिया त्यस्तै अभावग्रस्त देशमा पर्दछ।

बीबीसीका अनुसार रुस आफ्नो पक्षबाट युक्रेनमा लड्न इच्छुक लडाकुहरुको सूची तयार गरिरहेको छ। रुसको रक्षामन्त्रालय अन्तर्गतको टिभी च्यानल ज्वेज्दाले सरकारी स्रोतलाई उदृत गर्दै एउटा रिपोर्टमा भनेको छ,‘मध्यपूर्वी क्षेत्रका १६ हजार लडाकु आफ्नो इच्छाले यो युद्धमा सामेल हुन तयार रहेका छन्।’

युक्रेनविरुद्धको लडाइमा युद्ध गर्न जान लागेका लडाकुहरुले भनेका छन्,‘रुसले हामीलाई दुईवटा प्रस्ताव राखेको छ। अग्रपंक्तिमा रहेर युद्ध गर्नेलाई ७ हजार डलर र पछाडी बसेर युद्ध गर्नेलाई ३५ सय डलर दिने भनिएको छ।’

बीबीसीका अनुसार यो लडाइँमा ज्यान जानसक्ने जोखिम भएता पनि इच्छुक व्यक्तिहरुको संख्या ठूलो मात्रामा देखिएको छ।

सिरियामा अभाव धेरै भएकाले त्यहाँका लडाकुहरुले यतिबेला युक्रेन जाने समय कहिले हो? भनेर प्रश्न गरिरहेका छन्।

खबरअनुसार हालसम्म २ सय सिरियाली लडाकुलाई युक्रेनविरुद्ध लड्न छनौट गरिएको छ। एक लडाकुका अनुसार उनीहरुलाई मिठो खाना र पैसाको प्रस्ताव गरिएको छ। जसमध्ये ८० प्रतिशत लडाकु त खानाको लागि मात्र पनि युक्रेन जान लागेको देखिन्छ।

युक्रेन यस विषयमा भन्छ,‘रुसले सिरियाका लडाकु हामीविरुद्ध भर्ती गर्न १४ भर्ती केन्द्र खोलेको हामीलाई जानकारी छ। यी भर्ती केन्द्र सिरियाको राजधानी दमिश्क, अलेप्पो, हमा, रक्का र दीर अल जोरमा रहेको छ।

यी लडाकुलाई युद्धमा जान बाध्य भने बनाइएको छैन। उनीहरु अभाव र भोककै कारण युक्रेनविरुद्ध लड्न तयार भएका हुन्।

यसअघि रुसले युक्रेनमा आक्रमण सुरु गर्ने बित्तिकै पनि सिरियाली भाडाका लडाकु युक्रेनविरुद्ध लड्न रुस पुगेको खबर आएको थियो। टर्कीका संचारमाध्यमले सिरियाबाट अर्मेनिया हुँदै ती लडाकु रुस पुगेको जनाएको थियो। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस