प्रहरीका जवान र हवल्दारको अब १६ वर्षमै पेन्सन, गृहमन्त्रीको भित्री तयारी बाहिरिएपछि देशभरका प्रहरीमा छायो खुसीको बहार

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी जवान र हवल्दारको १६ वर्षमा पेन्सन बनाउने प्रस्ताव स्वीकृत भएको छ ।गृहमन्त्री बालकृष्ण खाणले १६ वर्षमा जवान र हवल्दारको पेन्सनमा जान मिल्ने गरेर मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागेको उच्च स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट प्रस्ताव गएको थियो । सो प्रस्तावलाई खाणले स्वीकृत गरेर अगाडि बढाउन लागेका छन् । प्रस्ताव स्वीकृत भए दुवै प्रहरीमा तल्लो दर्जाका प्रहरीको छिटो पेन्सन हुनेछ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मको १६ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ । २०६० चैत २६ गतेपछि प्रहरीमा भर्ना भएर त्यसभन्दा पछि नेपाल प्रहरी सेवामा नियुक्त हुने प्रहरीले यो सुविधा पाउनेछन् ।

सशस्त्र प्रहरी परिचरदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन १६ वर्षमा हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र सशस्त्र प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको पेन्सन भने २० वर्षमा हुने व्यवस्था गर्न माग गरिएको छ । प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएमा दुवै प्रहरीको ऐन संशोधन हुनेछ । गृहले यो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस