नेपालले गर्याे अर्काे चमत्कार : एपीसी हाँकेर इतिहास रच्ने नेपालकै पहिलाे महिला सैनिक

काठमाडौँ, नेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छन् । यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी चलाउने अवसर आएको हो । बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् ।

२०६२ पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ प्युठ हुन् । उनी अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिम लिइरहेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएँ ।

मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठाएको हुन सक्छ,’ बानियाँले नेपाली सेनाको ‘सिपाही पाक्षिक’ सँग भनेकी छन् ।

उनले पहिलोपटक एपीसीको ड्राइभिङ सिटमा बस्दाको अनुभव सुनाइन्, ‘तालिमको दौरानमा पहिलो पटक ड्राइभिङ सिटमा बस्दा अलि धेरै नर्भस भएँ । एपीसीभित्र सबै मेसिनरी सामान मात्रै, कुनै सानो फ्याट्रिभित्र छिरेको जस्तो भयो,’ उनले भनिन्, ‘ड्यास बोर्डहरु हेरें । सम्हालिदै स्टेरिङ समातें । गुरुजीले सिकाएअनुसार गरें । विस्तारै आत्मविश्वास बढ्दै गयो ।’

नेपाली सेनाका अनुसार एपीसी हाँक्न विशेष प्रकृतिको तालिम र क्षमताका साथै आँट चाहिन्छ । एपीसी युद्धग्रत क्षेत्रमा सैनिकहरुले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्छन् । एपीसीका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । सेनाका अनुसार बानियाँ मध्य अफ्रिकी गणतन्त्रको ‘मल्टिडाइमेन्सन इन्ट्रिग्रेटेड स्ट्याबिलाइजेसन’ मिसनमा भाग लिन चाँडै जानेछिन् ।

प्रतिक्रिया दिनुहोस