माओवादी केन्द्र प्राईभेट कम्पनी जस्तो भयो, त्यसैले परित्याग गर्यौं

चरिकोट – तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी प्राईभेट कम्पनी जस्तो भएकोले परित्याग गरेको बताएका छन् । मंगलबार एमाले प्रवेश गरेका माओवादी केन्द्र दोलखाका प्रभावशाली नेताहरुले बिधि, पद्धती समाप्त पारेर पार्टीलाई प्राईभेट कम्पनी जस्तो बनाईएपछि पार्टी छोड्ने निर्णयमा पुगेको बताए ।

माओवादी केन्द्र दोलखाका प्रभावशाली नेता, दोलखा क्षेत्र नम्बर १ का संयोजक, गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार निमा लामाले शान्ति प्रक्रियापछि नेताहरुमा आएको विचलनले पार्टी बिघटन र विसर्जनको दिशामा गएको बताए ।

‘पार्टी विधि र पद्धती चल्छ, शहिद, घाईते योद्धाको परिवार र कार्यकर्ताहरुको उचित व्यवस्थापन हुन्छ, क्रान्तिकारी पार्टी बन्छ भनेर लामो समय धैर्य गर्यौं, तर पार्टीमा परिवारवाद हावी भयो, प्राईभेट कम्पनी जस्तो भयो, जनयुद्धको उदेश्य र आदर्शबाट नेताहरु बिमुख भए, त्यसैले पार्टी परित्याग गर्न बाध्य भयौं, उनले भने ।’

माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट) ले जीवन हल्केलामा राखेर जन्माएको पार्टी दलाल, लोभीपापीहरुको स्वार्थ पुरा गर्ने साधनमा परिणत भएको बताए । ‘पद र स्वार्थका लागि जनयुद्धमा लागिएको थिएन, उनले अघि भने, ‘तर बिडम्वना पछिल्लो समय नेताहरुमा पद र स्वार्थका लागि जेपनि गर्न तयार हुने, देश र समाजलाई बर्वादीको दिशामा धकेल्ने रबैया देखियो, त्यसैले पार्टीमा बस्नुको अर्थ रहेन ।’

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिंगुर शेर्पाले माओवादी नेतृत्व तहमा देखिएको चरम बिचलनका कारण कार्यकर्ताहरुमा बिद्रोह सुरु भएको बताए । यसैगरी माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाका सह सचिव अशोक तामाङले नेताहरुको भनाई र गराई फरक हुनु, जनता र कार्यकर्ताहरुलाई बेवास्ता गर्दै गएपछि सिंगै गाउँपार्टी पार्टी छोड्ने निर्णयमा पुगेको बताए । यस्तै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि छिरिङडोमा शेर्पाले पार्टीले विगतमा गरेको प्रतिबद्धता अनुसार नेताहरुको व्यवहार नदेखिएको बताईन् ।

उनीहरुले आगामी दिनमा माओवादी केन्द्रभित्र पिडा, अन्याय सहेर बसेका नेता कार्यकर्ताहरुको ठुलो पंक्तिले बिद्रोह गर्ने बताए । उनीहरुसहित माओवादी केन्द्र र कांग्रेसका दर्जनौं नेता कार्यकर्ता मंगलबार नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस