मेयरले फिर्ता गरे सरकारी गाडी, सरकारी सेवासुविधा नलिने घोषणा..

विराटनगर : थप कार्यविधि बनाएर विकासका गतिविधी अघि बढाउन नसकिएको भन्दै मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन्।फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता दिएको घोषणा शनिबार पत्रकार सम्मेलनमार्फत गरेका हुन्। उनी कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले विकासका योजना अघि बढाउन नदिएपछि नैतिक रूपमा अप्ठेरो परेकाले गाडी फिर्ताको निर्णय लिएको फागोले बताए।

उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक गत चैत १६ गते बोलाइएको थियो। नेकपा एमालेबाट निर्वाचित भएकाहरुले नमानेपछि बैठकमा प्रस्तुत भएका प्रस्तावका बारेमा कुनै निर्णय हुन नसकेको जानकारी उनले दिए। उनका अनुसार बैठकमार्फत कार्यविधि निर्माण गरेर ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकास निर्माणका कामलाई अघि बढाउने योजना थियो।

‘कार्यविधि बनाएर प्रत्येक वडामा सडक कालोपत्रेका लागि ३० लाखका दरले रकम छुट्याउने योजना थियो। सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौँ,’ मेयर फागोले भने, ‘एमालेबाट निर्वाचित जनप्रतिनिधिले नदिएकाले बैठकबाट निर्णय गर्न सकिएन। जसका कारण विकासका काम रोकिएपछि सरकारी गाडी चढेर हिँड्नु उपयुक्त लागेन।’

ग्रेसबाट निर्वाचित वडाध्यक्षलाई पनि सरकारी मोटरसाइकल फिर्ता गर्न उनले आग्रह गरेका छन्। एमालेको अवरोधका कारण कार्यकालको अन्तिम समयमा आएर जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले नगरपालिबाट कुनै पनि सेवासुविधा नलिने घोषणासमेत गरेका छन्। जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, छवटा नियमावली, चारवटा निर्देशिका र एउटा आचारसंहिता बनाएको बताउँदै उनले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको उल्लेख गरे।

यसैबीच नगरपालिकाको खर्चमा मेयरले मुद्दा लडेको भनेर उपप्रमुखले लगाएको आरोपको उनले खण्डन गरेका छन्। फागोले भने, ‘५ वर्षको कार्यकालमा नगरपालिकालाई प्रतिवादी बनाएर ३६ वटा मुद्दा दायर भएको छ। केही मुद्दामा वडाध्यक्षलाई पनि प्रतिवादी बनाइएको छ। सबै मुद्दा लड्दा नगरपालिकाको कोषबाट १ लाख ७० हजार रुपैयाँ खर्च भएको हो।’

अन्तिम कार्यपालिका बैठकबाट पास गरिने ऐन, कार्यविधि र विकास निर्माणका कामले नजिकिँदो स्थानीय तह निर्वाचन प्रभावित हुने आरोप उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यको थियो। बजेट र कार्यविधि उर्लाबारीवासीको हितमा भए पनि चुनावको बहानामा विकासका गतिविधिमा अवरोध गरिएको फागोले बताए।

कार्यपालिका बैठक बस्न नसक्दा प्रदेश समपूरक कोषबाट २०७९/०८० मा आउने ३ करोड समपूरक अनुदान अब नआउने भएको जानकारी उनले दिए। फागोले निर्वाचनका बेला ५ वर्षअघि आफूले गरेकामध्ये ५४ वटा प्रतिवद्धता पूरा भइसकेको बताए। नगरको हितका लागि भनेर उनले ९१ बुँदे प्रतिवद्धता व्यक्त गरेका थिए। प्रतिवद्धतामा उल्लेख नभएको ‘उज्यालो उर्लाबारी, सुरक्षित उर्लाबारी’ अभियानअन्तर्गत पूर्व–पश्चिम लोकमार्ग र अन्य शाखा सडकहरुमा सडक बत्ती जडानसहित अन्य विकास निर्माणका काम पनि भएको फागोको भनाइ छ।

उपमेयर भण्डारीले भने मेयरले कार्यपालिकालाई बाईपास गर्ने खालका ऐन र कार्यविधि ल्याएका कारण आफूहरुले विरोध गरेको बताइन्। चुनावको मुखमा प्रचारका लागि खर्च गर्ने बजेट ल्याउन खोजिएको उनको आरोप छ। ‘अख्तियारमा अहिले पनि सार्वजनिक सम्पत्ति दुरुपयोग सम्बन्धीका मुद्दाहरु छन्,’ उपमेयर भण्डारीले भनिन्, ‘नगर प्रमुखले गरेको दुपयोगको साक्षी नबसौँ भनेर कार्यपालिका बैठकबाट ऐन, कार्यविधि र बजेट पास नगरिएको हो।’

उनले मेयर फागोले पहल गरेर संघ र प्रदेशबाट एउटा पनि ठूला योजना ल्याउन नसकेको बताइन्। उल्टै आफूले ल्याएका योजना कार्यान्वयन हुन नदिएको आरोप भण्डारीको छ।

प्रतिक्रिया दिनुहोस