भ्यू टावरको विरोध गर्नेहरु विकासविरोधी हुन् : केपी ओली

काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यू टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्थापनाको घोषणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरहरा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आरोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर विरोधीहरूले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै ।

हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पार्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दाबी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घोषणा गरे । नयाँ पत्रिका बा’ट ।

प्रतिक्रिया दिनुहोस