एमसीसी पक्षधर पार्टी र नेताहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु: विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताए । बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीको पक्षधरहरुलाई दलाल पूँजिपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।

उनले भनेका छन्, ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुविकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुविकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बिचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकको बिचमा एउटा ध्रुविकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तीब्रता दिनुपर्छ । हामीले गाउँ–गाउँसम्म पु¥याउनुपर्छ ।

उनले थप भनेका छन्, ‘हाम्रो पार्टीको सोचाइ छ कि यो लडाइँमा पनि हामीले प्रगतिशील शक्तिहरुलाई, देशभक्त शक्तिहरुलाई, क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पूँजिपति वर्गको विरुद्धको लडाइँमा गाउँ सम्म पु¥याउनुपर्छ र हामीले भनेका छौँ एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ । भोलि बिहानैबाट ढुंगा, मुढा, लाठा, बन्दुक, गोली यो होइन । तर यो निश्चित हो कि जनतालाई हामीले अपील गर्नुपर्छ ।’

त्यस्तै उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताएका छन् । कसैको आत्मसर्मपणले नेपालमा एमसीसी लागू हुन नसक्ने उनले दाबी गरे । महासचिव चन्दले एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनैपनि मूल्यमा रोक्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘एमसीसीलाई कुनै कानूनी मान्यताले लागु गर्न सकिदैनँ । कुनै संसदको स्वीकृतिले एमसीसीलाई लागू गर्न सकिदैनँ । कुनै दलालहरुको आत्मसर्मपण र लाहा छापले नेपालमा एमसीसी लागू हुन सक्दैन । एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्छ । कुनैपनि मूल्यमा त्यसलाई रोक्नुपर्छ र नेपालबाट साम्राज्यवादको अतिक्रमणलाई रोक्नुपर्छ ।’त्यस्तै उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरु पूरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस