काठका कन्टेनरभित्र रहेको केराको सिपमेन्ट खोलेर हेर्दा फेला पर्यो यस्तो चिज……

लन्डन , बेलायतमा सन् २०१५ यताकै सबैभन्दा ठूलो परिमाणमा कडा अवैध नशालु पदार्थ कोकिन बरामद भएको छ । केराको सिपमेन्टमा लुकाएर राखिएको कोकिनको वर्तमान अन्तर्राष्ट्रिय बजार मूल्य ३० करोड २० लाख पाउन्ड रहेको बताइएको छ ।

१७ मार्चमा साउथाम्पटन बन्दरगाहमा केरा राखिएका पाँचवटा ठूला काठका कन्टेनरभित्र कोकिन फेला पारिएको थियो ।
बेलायती गृहमन्त्री प्रिती पटेलले सन् २०१५ यता पहिलोपटक यति धेरै परिमाणमा कोकिन फेला परेको बताएकी छन् । सीमा फौजले यो हाइड्रोक्लारोइड कोकिनबाट करिब ३ दशमलब ७ टन ‘क्राएक कोकिन’ बनाउन सकिने बताएको छ ।

प्रिती पटेलले भनेकी छन्, “यस घटनाले मुलुकभित्र लागुऔषध तस्करी गर्न खोज्ने जोसुकैलाई पनि हामीले अवैध कार्यलाई रोक्न सक्छौँ भन्ने चेतावनी दिएको छ । केराको कन्टेनर कोलम्बियाबाट साउथह्याम्पटन आइपुगेको हो ।”

राष्ट्रिय अपराध निकाय (एनसीए) को क्षेत्रीय प्रमुख पिटर सेटेभन्सले भनेका छन्, “यस लागुऔषध आयात गर्ने संगठित अपराधिक समूहको यसबाट फाइदा कमाएर थप अपराध गर्ने मनसायलाई रोकिएको छ । हाम्रो समुदायमा अपराध र दुखलाई पृष्ठपोषण गर्न यसमध्ये केही कोकिन बेलायतकै सडक सडकमा बेचिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।”बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस