साईकल चलाएर चर्चामा आएका पूर्वमन्त्री पण्डित फेरि किन हिड्दै छन् अटोरिक्सामा ?

 काठमाडाैं ।विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि आफैँले अटोरिक्सा चलाएर घरदैलो अभियानमा सक्रिय बनेका छन् ।

पार्टीको निर्देशनअनुसार स्थानीय तह निर्वाचनका लागि आफ्नै गृहनगर विराटनगर रहेका पण्डितले अटोरिक्सा चलाएर भोट माग्दै नगरवासीको घरदैलोमा पुगेका हुन् । बुधबार बिहान ४ नम्बर वडामा घरदैलो गरेका तस्बिरहरू सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गरेका छन् ।

पूर्वमन्त्री आफ्नै रिक्सा चलाएर आफ्नो घरदैलोमा आउँदा नगरबासी दंग देखिन्थे । पण्डितले रिक्साको दायाँ–बायाँ एमालेको झण्डा र चुनाव चिन्ह राखेका थिए । पछाडि भने आफ्ना कार्यकर्तालाई राखेका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाको पनि मेयरमा उठ्ने चर्चा छ ।

एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ । स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए

प्रतिक्रिया दिनुहोस