अब सानदार ढंगले चुनाव जितेर कांग्रेस अघाडी बढ्दै् ५ वर्ष सरकार चलाउँछ : महामन्त्री गगन थापा

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने बताएका छन् । पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले नेकपाले आफ्नै घरमा आगो

लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको बताएका हुन् । नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि उनको भनाइ थियो । हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ । अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ,’ थापाले भने ।

थापाले अगाडि भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् ।

त्यस्तै तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको ‘कांग्रेस ५० वर्षसम्म सरकारमा आउँदैन’ भन्ने अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले भने, ‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ? महामन्त्री थापाले स्थानीय तहको चुनाव तोकिएकै मिति वैशाख ३० गते नै भए पनि संघीय चुनाव भने अगाडि पनि हुन सक्ने बताए ।

प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गरिरहने हो भने संघीय चुनाव अगाडि पनि हुन सक्ने उनको भनाइ थियो । साथै आगामी चुनाव कांग्रेसले जित्ने पनि उनको दाबी छ । ‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस