केपी ओली र माधव नेपाल बीच विमानस्थलको कक्षमा भएको त्यो जम्काभेट…..

काठमाडौ, कुनै बेला नेकपा एमालेको लामो समय नेतृत्व गरेका माधव कुमार नेपाल र वर्तमान अध्यक्ष केपी शर्मा ओली अहिले फरक पार्टीमा छन् । ओलीको प्रवृत्ति विरुद्ध पार्टी भित्रै संघर्ष गरेका नेपालले अब मिल्न सकिन्न भन्ने ठानेर अर्को पार्टी गठन गरे । उनीहरुबीच अहिले पानी बाराबारको अवस्था छ । दुइ नेताहरुबीच बोलचाल समेत छैन ।

पछिल्लो पटक उनीहरुबीच करिब १० महिना अघि भेटघाट र बोलचाल भएको थियो । त्यस यता भने उनीहरुले भाषणमा निकै खरो टिका टिप्पणी गर्छन । यस्तो अवस्थामा रहेका यी दुई नेताबीच पार्टी कार्यक्रममा उपत्यका बाहिर जाने क्रममा त्रिभुवन विमानस्थलमा जम्काभेट भएको हो। उक्त दिन मध्यान्ह एमाले अध्यक्ष ओली काठमाडौंबाट सिमरा हुँदै वीरगञ्जको पार्टी कार्यक्रममा जाँदै थिए। उता समाजवादी अध्यक्ष नेपाल काठमाडौंबाट भैरहवा हुँदै कपिलवस्तुमा हुने पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाँदै थिए।

सोही क्रममा दुई नेताहरुबीच अचानक जम्का भेट भएको हो । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआइपी कक्षमा ओली बसिरहेका बेला भैरहवा उड्नका लागि नेपाल पनि त्यहाँ पुगेका हुन् । पानी बाराबारको अवस्था रहेका बेला आन्तरिक टर्मिनलको भीआइपी कक्षमा एकअर्कालाई भेट्दा दुवै नेताहरुले असहज महशुष गरेका थिए ।

उनीहरु करिब १५ मिनेट एउटै सोफामा बसेका थिए । तर दुवै नेताले औपचारीक मर्यादा पनि पालन गरेनन् । एक अर्कासंग एक शब्द पनि बोलेनन् । तर दुवैले एक अर्कालाई भने हेरेका र्थिए । अचानक भएको यो भेटका क्रममा दुवैले एकअर्काप्रति आदरभाव प्रकट गरेनन्। अर्थात् नेपाली संस्कार अनुसार उनीहरुबीच नमस्कार आदान प्रदान पनि भएन।

त्रिभुवन विमानस्थलस्थित सुरक्षा स्रोतले भने दुई नेताहरु एउटै सोफामा करिब १५ मिनेट बसे पनि कुनै संवाद नभएको दाबी गरेको छ। दुई नेता भीआइपी कक्षको एउटै सोफामा १५ मिनेटसम्म बसेका थिए। ओलीले नेपालसँग बोल्नुपर्छ भनेर अगाडी रहेको पत्रिका पढ्न थालेका थिए ।

१५ मिनेटसम्म सँगै बसेपछि ओलीलाई सिमरा जाने जहाज उड्न लागेको खबर भित्रबाट आएको थियो। त्यसपछि ओली पहिले भीआईपी कक्षबाट निस्किएर सिमरातिर लागे। ओली हिँडेको करिब १५ मिनेटपछि नेपाल पनि जहाजबाट भैरहवातिर लागे।

प्रतिक्रिया दिनुहोस