पानी बाराबारको अवस्थामा रहेका केपी ओली र माधव नेपालबीच चुनावको मुखैमा अप्रत्यासित भेटघाट,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अप्रत्यासित भेटघाट भएको खबर छ । ओली र नेपालबीच करिब १० महिनायता पानी बाराबारको अवस्था छ । उनीहरुबीच चुनावको मुखैमा जम्काभेट भएको छ । अन्तिम पटक गत असारमा अन्तिम संवाद भएयता बोलचाल ठप्प छ।

१५ वर्षसम्म एमालेको नेतृत्व गरेका नेपाल अहिले नयाँ पार्टीको अध्यक्षका रुपमा अघि बढेका छन्।
एमाले र ओलीलाई दक्षिणपन्थ भासतिर गएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको समेत साथ लिएर नयाँ पार्टी खोलेका नेपालका हरेक भाषणमा पूर्व पार्टीप्रति कटाक्षमिश्रित शब्द हुन्छन्

अर्कातिर ओलीले पनि नेपालमाथि आक्रामक शब्दसहित आरोपित गर्न छाडेका छैनन्। नेपाललाई कुच्चिएका भाँडाको संज्ञा दिँदै ओलीले उनीबाहेक सबैसँग मिल्न सक्ने बताउने गरेका छन्। १० महिनासम्म एकै पार्टीमा रहेका यी दुई नेताबीच संवाद नै नरहेको अवस्थामा मंगलबार दिउँसो जम्काभेट भएको छ।

पानी बाराबारको अवस्थामा रहेका यी दुई नेताबीच पार्टी कार्यक्रममा उपत्यका बाहिर जाने क्रममा त्रिभुवन विमानस्थलमा जम्काभेट भएको हो। उक्त दिन मध्यान्ह एमाले अध्यक्ष ओली काठमाडौंबाट सिमरा हुँदै वीरगञ्जको पार्टी कार्यक्रममा जाँदै थिए। उता समाजवादी अध्यक्ष नेपाल काठमाडौंबाट भैरहवा हुँदै कपिलवस्तुमा हुने पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाँदै थिए।

सिमरा जानका लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआइपी कक्षमा ओली बसिरहेका बेला भैरहवा उड्नका लागि नेपाल पनि त्यहाँ पुगेका थिए। पानी बाराबारको अवस्था रहेका बेला आन्तरिक टर्मिनलको भीआइपी कक्षमा एकअर्कालाई भेट्नुपर्दा दुई नेताबीच केही बेर असहज अवस्था बनेको थियो।

स्रोतका अनुसार अचानक भएको यो भेटका क्रममा दुवैले एकअर्काप्रति आदरभाव प्रकट गरेनन्। अर्थात् नेपाली संस्कार अनुसार उनीहरुबीच नमस्कार आदान प्रदान पनि भएन। तर, दुई नेताबीच केही बेर हेराहेर भयो, बोलचाल हुन सकेन। ’केहीबेरको हेराहेरपछि अध्यक्ष नेपालले ओलीलाई के छ खबर? भनेर सोध्नु भएको थियो। त्यसको जवाफमा ओलीले, ठीकै छ’, भनेर उत्तर फर्काउनु भयो’, स्रोतले भन्यो।

तर त्रिभुवन विमानस्थलस्थित सुरक्षा स्रोतले भने दुई नेताहरु एउटै सोफामा करिब १५ मिनेट बसे पनि कुनै संवाद नभएको दाबी गरेको छ। ’उहाँहरु १५ मिनेटसम्म नजिकै बस्नु भयो’, सुरक्षा स्रोतले भन्यो, ’तर हामीलाई दोहोरो कुराकानी भएको याद भएन।’

दुई नेता भीआइपी कक्षको एउटै सोफामा १५ मिनेटसम्म बसेका थिए। छोटो संवाद भएपछि ओलीले नेपालसँग बोल्नुपर्ने बाध्यता टार्न आफूलाई पत्रिकातिर केन्द्रित गरेका थिए। एकै सोफामा उनीहरु बसिरहँदा बीचमा एकजना महिला रहेको सुरक्षा स्रोतले बताएको छ। तर ती महिला को हुन् भन्ने सुरक्षा स्रोतले खुलाउन चाहेन।

१५ मिनेटसम्म सँगै बसेपछि ओलीलाई सिमरा जाने जहाज उड्न लागेको खबर भित्रबाट आएको थियो। त्यसपछि ओली पहिले भीआईपी कक्षबाट निस्किएर सिमरातिर लागे।

ओली हिँडेको करिब १५ मिनेटपछि नेपाल पनि जहाजबाट भैरहवातिर लागे। उनले कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा पुगेर एमालेमा रहँदा आफूले नै वृद्ध भत्ता सुरु गरेको भाषण दिए। उता ओलीले वीरगञ्जमा पुगेर आफ्नो सरकारको पालामा योजनावद्ध काम गरेर लोडसेडिङ हटाए पनि अरुले जस लिन खोजेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस