पूर्व प्रधानमन्त्रीले जब आफुभन्दा ५३ वर्ष कान्छी महिलासँग विवाह गरेपछि…

एजेन्सी । इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी मार्ता फासिनासँग ‘प्रेमको उत्सव’ मनाइरहेको देखिएका छन् । स्मरण रहोस्, मार्ता फासिना आफैं पनि एक सांसद हुन् ।

यो समारोह मिलानको लेस्मो शहरको एक ऐतिहासिक स्थल विला गेर्नेटोमा भयो । यो समारोह विवाह जस्तै देखिएतापनि उनीहरुले आधिकारिक रुपमा विवाह भने गरेनन् किनभने यी दुईको परिवारबीच सम्पत्तिको विषयमा झगडा छ । बर्लुस्कोनीको यो निर्णयले उनीहरुका पाँच सन्तान असन्तुष्ट भएको बताइन्छ । वास्तवमा विवाहपछि बर्लुस्कोनीको ५ बिलियन पाउन्ड (८ खर्ब रुपैयाँ) को सम्पत्तिमा फासिनाको पनि अधिकार लाग्नेछ ।

फासिना यसअघि फ्रान्सेस्का पास्कलसँग सम्बन्धमा थिइन् । तर सन् २०२० मा उनीहरुको ब्रेकअप भयो । अब अहिले उनी आफूभन्दा ५३ वर्ष जेठा व्यक्तिसँग सम्बन्धमा भएका कारण चर्चामा छिन् । इटलीको समाचार एजेन्सी एएनएसएका अनुसार फासिनाले केलाब्रियन भाषामा ग्रेजुएशन गरेकी छिन् । सोसल मिडियामा उनी असाध्यै चर्चित छिन् ।

यद्यपि, असाध्यै कम उमेरकी महिलामा बर्लुस्कोनीको रुची देखेर धेरैलाई अचम्म पनि लागिरहेको छैन किनभने उनको नाम सेक्स वर्करसँगको स्क्यान्डलमा पनि जोडिन्छ । उनीमाथि अहिले पनि एक नाबालिगमाथिको यौन सम्बन्धको मामिलामा साक्षीलाई पैसा दिएको आरोप लागिरहेको छ ।

पूर्व प्रधानमन्त्रीलाई सुरुमा फेब्रुअरी र मे २०१० को बीचमा यौन सेवाका लागि नाबालिग मोरक्कन यौनकर्मी रुबी द हार्ट स्टिलर भनिने करिमा एल महरुगलाई ६ मिलियन पाउन्ड (९६ करोड रुपैयाँ) तिरेको आरोप लागेको थियो । तर पनि उनलाई पुनरावेदनमा दोषी ठहर गर्न सकिएन ।

प्रतिक्रिया दिनुहोस