एमालेले छाडेको ९ महिनामै अर्थतन्त्र ध्वस्त भयो, कुन दिनदेखि वृद्धभत्ता पनि रोक्छन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् ।
लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने उनको भनाइ छ ।

विहीबार नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दाबी गरे ।एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने ओलीको भनाइ थियो ।

उनले भने, देशलाई झन् गरिब हुनबाट बचाउन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरूसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गरे ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक–एक लाख रकम दिने घोषणा गरे ।समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको बताउँदै ओलीले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने बताए ।अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता लाइट बालेर खोज्दा पनि पाइँदैनन्, उनले भने, बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ । नेपालगञ्जमा सम्बोधनपछि अध्यक्ष ओली आजै बर्दिया गएका छन् ।

प्रतिक्रिया दिनुहोस