सहमतिमा राजसंस्था पुनर्स्थापना गरौँ, लिङदेनलाई प्रधानमन्त्री बनाऊँः भुवन पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले अब राप्रपाको नेतृत्वमा मात्रै मुलुकमा परिवर्तन सम्भव रहेको दाबी गरेका छन् ।उनले राजनीतिक दलहरुबीच सहमति गरेर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारे ।

राप्रपाले काठमाडौंको खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै पाठकले यस्तो प्रस्ताव गरेका हुन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता असफल साबित भइसकेको टिप्पणी गरे ।

पाठकले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पनि असफल भइसके । अब सबै दलहरू बसौँ र सहमतिबाट यो व्यवस्था परिवर्तन गरौँ ।’आफ्नो आग्रह स्वीकार नगरेर आन्दोलनको आँधिबेरी ल्याएर राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याउने उनले चेतावनी दिए ।

‘यो आग्रह स्वीकार गर्नुहुन्न भने आन्दोलनको आँधिबेरी ल्याएर नागार्जुनबाट राजालाई नारायणहिटीमा ल्याउनेछौँ,’ उनले भने ।कांग्रेस र कम्युनिस्ट असफल भइसकेकोले अब राप्रपाको नेतृत्वमा सरकार बन्नुपर्ने पाठकले बताए ।

‘राप्रपा अध्यक्षको नेतृत्वमा सरकार बनेपछि मात्रै यो मुलुकको परिवर्तन सम्भव छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस