‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे भन्दै रिसले चुर :अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिनुभएको छ ।बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले पाँचवटा मुख भएका खन्चुवाहरूले देशलाई बर्बाद पारिरहेको टिप्पणी गर्नुभयो ।

ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा जनलहर उर्लिएको भन्दै एमालेलाई जिताउन जनता चुनावको प्रतिक्षामा रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको बताउनुभयो । एमालेले सरकारमा नहुँदा कसैलाई मन्त्री र राजदूत नबनाए पनि सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका उहाँको जिकिर थियो ।

अध्यक्ष ओलीले अध्यादेश ल्याएर सरकार चुनाव रोक्ने दाउमा लागिपरेको जिकिर गर्नुभयो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फाल्न सक्ने भए पनि चुनाव नबिथोलियोस् भनेर चुप लागेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस