भरतपुरमा रेणुलाई उठाउन देउवा सहमत भएपछि कांग्रेसले विद्रोह गर्ने चेतावनी

काठमाडौँ /चैत २९प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् ।

पार्टीका स्थानीयस्तरका नेता/कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

‘यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘६ महानगरपालिकामध्ये यसअघि जितेका ललितपुर र विराटनगर कांग्रेसले पाउँछ भने वीरगन्ज जसपाले लिन्छ ।
एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी छ ।’ सम्भवतः काठमाडौंमा कांग्रेस र पोखरा महानगरपालिकामा एकीकृत समाजवादी वा माओवादीमध्ये एकले नेतृत्व पाउनेछन् ।’

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका अनुसार आलोपालो गर्नुपर्ने गठबन्धनको चरित्र र राजनीतिक शक्तिका आधारमा पनि यसपटक कांग्रेसले मेयर पाउनुपर्ने ‘बटमलाइन’ स्थानीय तहमा कांग्रेसले अघि सारेको बताए ।

चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस