देशको मुहार र जनताको जीवनशैली फेर्ने हो भने पार्टी र नेता फेर्ने बेला अहिले आएको उनले बताए ।

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश बचाउन र बनाउन, आगामी निर्वाचनमा कांग्रेस र कम्युनिस्ट पार्टीहरुको विकल्प खोज्न जनतालाई अपिल गरे । मगंलबार वीरगन्जको सभामा अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन चलाएका कांग्रेस र कम्युनिष्टहरुबाट अब देश नबन्ने भन्दै उनीहरुको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।

देशको मुहार र जनताको जीवनशैली फेर्ने हो भने ३१ वर्षदेखि शासन गर्दै आएका पार्टी र नेता फेर्ने बेला अहिले आएको उनले बताए । उनले भने, ‘यदि हामीले आफ्नै जीवनकालमा देशको भविष्य उज्वल बनेको हेर्नुछ भने जनताले अब कांग्रेस र कम्युनिष्टहरुको विकल्प खोज्नै पर्छ, त्यो विकल्प भनेको राप्रपा मात्रै हो। लालु यादवको शैलीमा कांग्रेस कम्युनिष्टले शासन चलाइ रहेका छन् ।’

भारतको बिहारमा विगतमा लालु यादवले शासन चलाएकै शैलीमा, कांग्रेस र कम्युनिष्टले पनि नेपालमा ३१ वर्षदेखि शासन चलाउँदै आएका कारण जनताले दु:ख पाइरहेको उनले बताए। विगतका निर्वाचनहरुमा जनताले ठिक पार्टी र ठिक नेता नचुनेकै कारण देश र जनताले दुख पाइरहेको उनले बताए।

राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा आयोजित आमसभालाइ राप्रपाका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी, केन्द्रीय उपाध्यक्ष ध्रुब प्रधान, महामन्त्रीद्वय भुवन पाठक र राजेन्द्र गुरुङ, सहमहामन्त्री मोहन यादव केन्द्रीय सदस्य तथा नायिका रेखा थापालगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस