एक ढिक्का भएर जनयुद्ध लडेका सहयात्री फेरि एक ठाउँमा उभिन प्रचण्डको अपील

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिकृयावादीको रणनीति माओवादीलाई घेराहालेर सिध्याउने रहेको बताएका छन् ।

बिहीबार माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुटको कारण आन्दोलनबाट स्थापित मूल्य मान्यता र संविधान सिध्याउने खेल भएको बताएका हुन् ।

आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको दायित्व आफूहरुको रहेको पनि उनले बताए । जनयुद्धमा सबै एक ढिक्का भएर लडेको स्मरण गर्दै प्रचण्डले उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएरमा उभिने दिन आएको दाबी गरेका छन् ।

माओवादी परित्याग गरेका नेताहरु मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले पार्टी विभाजन कुनै हालतमा पनि सही नभएको बताए । प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको पनि उनले दाबी गरे ।

‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन्,’ उनले भने ।

साथै माओवादी र एमाले मिलेर बनेको नेकपामा एमालेको ठूलो जनमतले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको उनले बताए ।

‘अबको हाम्रो नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा एमालेका नेता पुगेपछि नेकपामा भयाङ्कर षड्यन्त्र सुरु भयो,’ उनले भने । साथै एमाले भित्रका इमानदार नेताहरु पार्टीभित्र बन्दी बनेका उनले बताए । एमालेका सबै नेता खराब नभएको उनको भनाइ छ ।

साथै तत्कालीन जनयुद्दको कमाण्डर, शान्ति सम्झौताको हस्ताक्षरकर्ता र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका खेलेको हैसियतले पूर्वमाओवादीलाई विना पूर्वाग्रह एकबद्द हुन आग्रह गर्न चाहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस