माधव नेपालजीको पार्टीले औकातभन्दा बढि सिट खोज्यो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पालिकामा गठबन्धन नहुने स्वीकार गरेका छन् । उनले स्थानीय स्तरमा समझदारी जुटेका पालिकामा गठबन्धन भएपनि सबै ठाउँमा तालमेलको अपेक्षा गर्न नहुने बताएका हुन् ।

शुक्रबार खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले महानगर र उपमहानगरको सिट बाँडफाँड केन्द्रबाटै हुने भएपनि नगर र गाउँपालिकाको तालमेल जिल्लाबाटै टुंगिने बताए ।

उनले सत्तारुढ दलहरुबीचको चुनावी तालमेल एउटा राजनीतिक सन्देश भएको बताए । उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढि ठाउँ खोज्दा सहमतिमा समस्या भएको बताए ।

‘माधवजीको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ। त्यसैले पनि गठबन्धनभित्र अलिकति समझदारी जुटाउन कठिन छ,’ उनले भने ।

प्रचण्डले गठबन्धनमा आवद्ध दलहरुबीच सहमति नजुटेको ठाउँमा माओवादी एक्लै पनि चुनाव लड्न तयार हुनुपर्ने उल्लेख गरे । उनले कांग्रेससँग तालमेल नभएका ठाउँमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादीका साथै अन्य दलहरुसँग पनि गठबन्धन गर्न सकिने बताए।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले केन्द्रमा चुनावी तालमेलको निर्णय गरेपनि जिल्लास्तरमा भने सहमति जुट्न सकेको छैन ।

कांग्रेस अधिकांश पालिकामा एक्लै प्रतिस्पर्धा गर्न खोजिरहेको छ भने माओवदी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसले जितेका ठाउँमा पनि नेतृत्व दावी गरिरहेका छन् । पाँच दलीय संयन्त्रले बैशाख ५ गतेभित्र जिल्लाबाट नाम पठाउन निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस