गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेको हुँ,बरु सरकारमा बस्दिन तर उनीहरुलाई धोका दिन्न : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेल भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।उनले गठबन्धनमा आवद्ध दलहरुकै सहयोगमा कांग्रेस सरकारमा गएको उल्लेख गर्दै उनीहरुलाई चुनावमा धोका दिन नमिल्ने बताएका हुन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकमा भने, ‘कांग्रेस जिम्मेवार पार्टी हो । हामीले गठबन्धनको निर्णय अनुसार अगाडि जानुपर्छ । सहयात्री दलहरुलाई धोका दिन मिल्दैन ।’

महानगर र उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारबारे छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको हो । बैठकमा नेताहरुले चुनावी तालमेलका विषयमा फरक फरक धारणा राखेका छन्।

सभापति देउवाले संसद विघटन हुँदा चुनावमा जानुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे । उनले गठबन्धन गरेर दलहरुले आफूलाई प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्दै अहिेले चुनावमा सहयात्री दलहरुलाई धोका दिन नहुने बताएका थिए ।

‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन,’ देउवाको भनाई उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले भने ।

पाँच दलीय गठबन्धनका बीच केन्द्रमा चुनावी तालमेल गर्ने सहमति भएपनि स्थानीय स्तरमा भने कार्यान्वयनमा जटिलता देखिएको छ । विभिन्न जिल्लामा दलहरुबीच सिट बाँडफाँडमा कुरा नमिल्दा चुनावी तालमेल हुन सकेको छैन ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन दलहरुबीच चुनावी तालमेल हुन नसके मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस