अब तालमेल हुँदैन, आफू–आफू लड्न पाइन्छ हामी गठबन्धनमा जादैनौ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुरा मिलेन भनेर स्थानीय तहको निर्वाचनमा तालमेल नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले गठबन्धनका दलहरूबीच कुराकानी मिलेन भने आफू–आफू लड्न पाइने बताएका हुन् । उनले पार्टीले गरेको निर्णयलाई परिवारको सदस्यले जस्तै गरेर पूर्ण रुपमा पालना गर्नुपर्ने पनि बताएका छन् ।

‘गठबन्धनको बीचमा देशभरि अहिले छलफल चलिरहेको छ । छलफल चल्दै गर्दा कुराकानी मिल्यो, तालमेल हुन्छ’, थापाले भनेका छन्, ‘कुराकानी मिलेन, तालमेल हुँदैन । कुराकानी मिलेन भने आफू–आफू लड्न पाइन्छ । लड्न पाउनुपर्छ ।’

‘त्यो बेलामा तल । मानौँ काठमाडौं महानगरपालिकाको सभापति यहाँ हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको विषयमा सबैको कुराकानी मिल्यो । यहाँको स्थानीय नेताहरूले ल हुन्छ भन्नुभयो भने हुन्छ’, उनले भने, ‘यहाँको साथीहरूले हुँदैन भनेर भन्दै गर्दा त्योभन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर निर्णय थोपर्न पाउँदैन । त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन ।’

उनले भने, ‘भुइँमा खसेको टिप्छुभन्दा पोल्टाको पोखिने डर हुन्छ । हामीले पहिला आफ्नो घर सम्हाल्नुपर्छ । आफ्नो घर सम्हालेपछि बल्ल बाहिर सम्हाल्न सकिन्छ ।’

‘अहिले हाम्रो पार्टीभित्रको एकता हो । पार्टीभित्र हामी फरक फरक जिम्मेवारीमा छौँ । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा नियम कानूनभित्र रहेर प्रतिस्पर्धा गर्‍यौँ’,

उनले भने, ‘जिम्मेवारीमा आइसकेपछि पार्टीको हित केमा छ ? जनताको समर्थन कसलाई छ ? को उम्मेदवार बन्दै गर्दा पार्टीलाई जिताउने अवस्था बन्छ भन्ने कुरा हेरेर निर्णय लिनुपर्छ । पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्नेछ ।’

महामन्त्री थापाले भने, ‘पार्टीले उम्मेदवार टुंगो लगाइसकेपछि, निर्णय गरिसकेपछि, त्यो निर्णयलाई सबैले मानेर हिँड्नुपर्छ । त्यो नियम हो । पार्टीको सदस्य भएर त्यसलाई उल्लंघन गर्छु भन्न पाइँदैन ।’

‘पार्टी छाडेर गएर रुखमा भोट हाल्दैन भन्न पाइन्छ । तर, पार्टीको सदस्य भएर, उम्मेदवारसँग सँगसँगै हिँडेर भोट हाल्दैन भन्न पाइँदैन’, थापाले भने, ‘हामीले नदेखेपनि पशुपतिनाथले देख्नुहुन्छ । उम्मेदवारलाई ढाँट्न सकिन्छ । भगवानलाई कसरी ढाँट्ने ? त्यो बेलामा अन्तरघात भनेको पाप हो ।’

महामन्त्री थापाले भनेका छन्, ‘सभापतिले अस्ती के कुरा भन्नुभयो पार्टीको छलफल हुँदै गर्दा भने पुस ५ गते संसद भङ्ग भइसकेपछाडि त्यो बेलामा मेरो मत वा मेरो इच्छा, पार्टी सभापतिले भन्नुभएको, म त्यो बेला संसद पुनःस्थापना हुँनु हुँदैन तर, अब चुनावमा जानुपर्छ भन्ने थियो ।

तर, रामचन्द्र पौडेल लगायत बहुसंख्यक केन्द्रीय कार्यसमितिको साथीहरूले होइन, संसद पुनःस्थापना हुने कुरा उचित कुरा हो, पार्टीले संविधानको पक्षमा उभिने भनिसकेपछि मैले मेरो आफ्नो कुरालाई, मेरो मनलाई, मेरो मनमा एउटा कुरा हुँदाहुँदै पनि चित्त बुझाएँ ।’

प्रतिक्रिया दिनुहोस