गायिकाले बयान फेरेपछि साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलायो

तेजन खड्का :नाबालिग गायिकामाथि अभिनेता पल शाहले कर णी गरेको घटनाका एकजना साक्षी भनिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।

आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।

यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।

अभिनेता पल शाहले आफूमाथि कर णी गरेको होइन भन्दै नाबालिग गायिकाले अदालतमा उल्टो बकपत्र (होस्टाइल) गरेपछि यो मुद्दामा अब के हुन्छ भनेर धेरैले प्रश्न उठाएका छन्।

पीडितले जाहेरीमाभन्दा उल्टो बकपत्र गरेपछि अब पललाई उन्मुक्ति मिलेको जसरी सार्वजनिक चर्चा भइरहेको छ। तर जाहेरवाला, साक्षी वा पीडितले उल्टो बकपत्र गर्दैमा कसुरदारले उन्मुक्ति पाउँदैनन्। अरू प्रमाणले कर णी भएको पुष्टि भए पल शाह दोषी नै ठहर हुने छन्। अन्य प्रमाण भनेको जाहेरी दरखास्त, पीडित र साक्षीले प्रहरीमा गरेको कागज, पीडितको स्वास्थ्य परीक्षण, सार्वजनिक भएको अडिओ रेकर्ड र अन्य साक्षीका बयान हुन्।

बरू मुद्दामा उल्टो बकपत्र गरेको पुष्टि भए पीडितलाई नै तीन महिनासम्म सजाय हुन सक्ने व्यवस्था मुलुकी संहितामा छ। यो सजाय गर्ने कि नगर्ने भनेर भन्ने चाहिँ न्यायाधीशको विवेकमा भर पर्छ।

प्रतिक्रिया दिनुहोस