चितवन कांग्रेस सभापतिलाई बालुवाटार बोलाएर देउवाले भने- भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन्। आज चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताएका हुन्।

उनले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि आग्रह गरेका थिए। ‘आज सभापतिसँग बालुवाटारमा कुरा भएको हो, उहाँले भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो भन्नुभयो,’ सभापति खनालले सेतोपाटीसँग भने। ०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो। कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर भएकी थिइन्।

बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर नछाड्ने भए काठमाडौं वा विराटनगर जहाँ भए पनि दिन आग्रह गरेको देउवाले बताएका थिए। ‘अन्यत्रभन्दा भरतपुर नै सजिलो हुन्छ भन्ने माओवादीको भनाइ रह्यो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस