पल शाह प्रकरण : किशोरी गायिकाको बुबाले पनि फेरे बयान

काठमाडौं । अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिने किशोरी (गायिका)को बुबाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा किशोरीको बुबाले आफैले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिएका हुन् ।

त्यसोत, गत आइतबार मात्र बकपत्रका क्रममा पीडित किशोरीले पनि आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् । पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु कसैको उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।

यसैक्रममा आज बकपत्र गर्ने क्रममा किशोरीको बुबाले पनि जाहेरी आफैले दिएको तर पछि बुझ्दै जाँदा यथार्थ विवरण थाहा भएको उल्लेख गर्दै भनेका छन्, ‘सबै विवरण मैले लेखेको हो । त्यसमा शंका छैन । अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

गत ११ फागुनमा किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि तनहुँ प्रहरीले पल शाहलाई नियन्त्रणमा लिएको थियो । अहिले अभिनेता पल शाह पूर्र्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।

प्रतिक्रिया दिनुहोस