गठबन्धनमा सबैले अपमान गरे,अब सहिँदैन विद्रोह गरिन्छ : माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको बताउँदै अपमान सहन होइन विद्रोह गर्न जन्मेको अध्यक्ष नेपालले बताएका हुन् ।

उनले भने, ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्‍यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’

गठबन्धनको बैठकमा महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा उम्मेदवारको भागबन्डाबारे अझैँ सहमति जुट्न नसकेको अवस्थामा अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका छन् । गठबन्धनको बैठकमा नेपाली कांग्रेस र नेकपा एसबीच पोखरा महानगरपालिकामा दावी नहटेपछि सोमबार बसेको गठबन्धनको निष्कर्षविहीन टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस