कांग्रेसले नै भरतपुरको मेयरमा उम्मेदवारी दिन्छ,माओवादीलाई सहयोग गर्दैनः दिनेश कोइराला

चितवन,बैशाख ६-सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय भइरहँदा चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार समेत त्यस्तो निर्णय गर्न नमिल्ने बताएका छन् ।

‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ,’ कोइरालाले विज्ञप्तिमार्फत् भनेका छन्,

‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ । कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।’

भरतपुरमा कांग्रेसले गत निर्वाचनमा पनि माओवादी केन्द्रलाई सघाएको थियो । त्यसबेला कांग्रेसबाट उम्मेदवारी दिइसकेका कोइरालाको उम्मेदवारी सभापति शेरबहादुर देउवाले केन्द्रबाट पत्राचार गरेर फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस