कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने मत पार्टीभित्र अल्पमतमा परे पनि ढिलोचाँडो एक्लै निर्वाचन लडेर जित् नसक्ने कांग्रेस बनाइछाड्ने बताए ।

‘कांग्रेसको मत ३०–३२ लाख हो । त्यो मत नबढाउने हो भने हामी कुनै न कुनै कम्युनिस्ट पार्टीसँग डराइरहनुपर्छ । अहिले कम्युनिस्टहरू मिल्ने डरले गठबन्धन गरेका छौँ, भोलि जितेर आएपछि उनीहरूले अर्को डर देखाउँछन् । त्यसैले अब डराउने होइन, एक्लै चुनाव जित्ने कांग्रेस बनाउनुपर्छ’, महामन्त्री थापाले भने ।

ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो ।

‘हाम्रो मत कहिले पार्टीकै मत बन्छ । कहिले हाम्रो मत अल्पमतमा पर्न पनि सक्छ । अहिले अल्पमतमा परे पनि कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने उद्देश्यमा हामी विचलित छैनौँ’, थापाले भने ।

नेपालका कम्युनिस्टहरू रातारात एकता वा रातारात विभाजन गर्न माहिर रहेको भन्दै थापाले चुनावपछि पनि गठबन्धनको निरन्तरता निश्चित नहुने बताए ।

‘अहिले हामी मिल्दिम भनेर डर देखाएका छन् । जितेर आएपछि हामीलाई चाहियो भनेर डर देखाउँछन्’, थापाले भने ।

कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार स्थानीय समितिलाई दिए पनि त्यो कार्यान्वयन हुन नसकेको थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस