एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमा परेका रोहित तिवारीसँग केकिले गरिन बिवाह ( तस्विर सहित)

काठमाडौं :पर्दामा कयौं पटक बेहुली बनिसकेकी अभिनेत्री केकी अधिकारी बिहीवार वास्तविक जीवनमा बेहुली बनेकी छन् । बुधवार (हिजो) नै उनले विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।

उनले विवाहका तस्विरहरु सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् । रोहितसँग उनी केही समयदेखि प्रेममा थिइन् ।

केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । केही समय अगाडि एक अन्तर्वार्तामा केकीले विवाहपछि पनि अभिनयमा सक्रिय हुने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘बिहे गरे पनि म फिल्म इन्डस्ट्री छाड्दिनँ । जो व्यक्तिले मेरो कामलाई बुझ्नुहुन्छ र मलाई रेस्पेक्ट गर्नुहुन्छ त्यही व्यक्तिसँग जीवन विताउँछु ।’

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

तस्वीर : तौवा इभेन्ट्स

प्रतिक्रिया दिनुहोस