माओवादी हारे परिवर्तनका उपलब्धि उल्टिने खतरा : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताए।

उनले कम्युनिस्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान गरे। ‘विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ,’ उनले भने, ‘जनयुद्धबाट प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उनले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए। ‘परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिस्ट शक्तिलाई विशेष रुपले अपिल गर्न चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस