कसैसँग गठबन्धन गर्दैनौं, जनताले दिएको स्थानमा बस्न तयार छौंः राजेन्द्र लिङ्देन

काठमाडौं,११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, “सैद्धान्तिक रुपमा राप्रपा एक्लै लड्ने तयारीमा छ । हामीले संगठन संरचनामा धेरै फेरबदल र सुधार गरिसकेका छौं ।

निकै लामो फड्को मार्‍यौं। निष्ठाले राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने आइसक्नुभएको छ । बाँकी पनि आउनुहुन्छ । जनताले जुन स्थान दिन्छन्, हामी त्यसमा बस्नेछौं ।”

उनले नेकपा एमालेसँग आफ्नो पार्टीको कुनै कुरा नभएको पनि स्पष्ट पारे । उनले थपे, “हामो कुनै पार्टीसँग तालमेलको कुरा भएको छैन । एमालेसँग कुरा गर्ने अरु नै राप्रपा होला । स्थानीय तहमा आवश्यकताअनुसार साथीभाइले कुरा गरेछन् भने त्यो बेग्लै कुरा हो ।”

राप्रपाको घोषणापत्रमा अभ्यास गर्न नसकिने कुनै कुरा नभएको लिङ्देनले बताए । उनले भने, “कार्यान्वयन गर्न नसकिने कुनै कार्यक्रम घोषणापत्रमा समावेश गरेका छैनौं । १२ कक्षासम्म निःशुल्क र आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनेको विगतमा हामीले झापाको कचनाकवल र हल्दिबारीमा निर्वाचन जितेर अभ्यास गरिसकेका छौं । यसका लागि हामीले कर बढाउँदैनौं । राप्रपाले चुनाव जित्ने स्थानमा ५० प्रतिशतसम्म कर कटौती गरेर देखाउँछौं ।”

राजसंस्था र हिन्दु राष्ट्र नेपालको स्थायित्वको आधार भएकाले पुनःस्थापना सम्भव भएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस