धन कमाउने भनेर पार्टीमा लाग्नुभएको छ भने छोडिदिनुस्ः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल बन्दै गएको अहिलेको व्यवस्थाको विकल्पमा आफूहरूको उपस्थिति रहेको बताएका छन्।३२ वर्षमा ३६ सरकार परिवर्तन भएको र दुई तिहाइ बहुमतका सरकार समेत ढल्ने गरेको भन्दै उनले यो सबै असफल व्यवस्थाको परिणाम भएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नारा दिएर विगत ३२ वर्षदेखि जनतालाई कैद गर्ने र बन्धक बनाएर राख्न खोज्नेहरूका विरूद्ध राप्रपाको उदय भएको बताए।

उनले जनतालाई आफ्नो गोठको गाईभैंसी सम्झेर कजाउनेहरूलाई जनताले निर्वाचनमा बदला लिने बेला आएको बताए।‘जनतालाई आफ्नो गोठको गाईभैंसीजस्तै गरेर पालेकाहरूका बाकस खाली गरिदिनुपर्ने छ,’ उनले भने।

लिङ्देनले राजनीतिक दलहरूले राजनीति भ्रष्टिकरणमा पुर्‍याएको भन्दै देशबाट सधैंका लागि भ्रष्टाचार उन्मूलनका लागि एकपटक आफूलाई विश्वास गर्न आग्रह गरे।

भ्रष्टाचार गरेर कुम्ल्याएको अकुत सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने भन्दै उनले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताए।

‘राजेन्द्र लिङ्देन नेपाली राजनीतिमा वडा अध्यक्षबाट उठ्दै(उठ्दै यहाँसम्म आएको छ, अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको कसैले पुष्टि गर्छ भने म जीवनभर उसको नोकर बस्छु, तपाईंहरू पनि कोही पार्टीमा लागेर धन कमाउने मनसायले आउनु भएको छ भने आजैदेखि पार्टी छोडिदिनुस्,’ उनले भने।

उनले आफ्नो पार्टीले जित्ने स्थानीय तहमा भ्रष्टाचारको नामसमेत सुन्न नपाउने गरी काम गर्ने उल्लेख गर्दै उम्मेदवार बन्न चाहनेहरूले भ्रष्टाचार गर्दिनँ भनेर सार्वजनिक रूपमा कसम खान आग्रह गरे।

‘जो उम्मेदवार बन्दै हुनुहुन्छ, सार्वजनिक रूपमै कहिल्यै भ्रष्टाचार गर्ने छैन भनेर कसम खाएर मात्रै मनोनयन दर्ता गर्न जानुहोला,’ लिङ्देनले भने।गएका निर्वाचनमा सही दल र व्यक्तिलाई चुन्न नसक्दा नेपाली जनताले दुस्ख पाएको दाबी गर्दै उनले अब पनि आफ्नो भाग्यलाई दोष दिएर गलत पार्टी र व्यक्तिलाई जिताउने छुट नेपाली जनतालाई नभएको बताए।

‘मेरो बाउको पार्टी, आमाको पार्टी, मेरो पार्टी भनेर अहिलेका दलहरूलाई नै भोट दिएर पठाउने छुट इमान्दार जनतालाई छैन, उनले भने, ‘देशको अवस्था देख्दा कांग्रेस, एमाले र माओवादीका इमान्दार कार्यकर्तालाई पनि ऐंठन हुन्छ होला, अब ऐंठन भएर बस्ने होइन राप्रपाको अभियानमा जोडिनुस्, यो अभियान राप्रपाको मात्र होइन देश बचाउने अभियान हो।’

प्रतिक्रिया दिनुहोस