र्‍यापर बालेन शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार मतले जित्ने दाबी गरेपछि विजय लामाले दिए यस्तो सुझाव

काठमाडौं :काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरूको भोट काटेर म जित्न आएको हुँ ।’

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्विकार्नु पर्ने समेत बताए ।

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।

शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहोर्‍याए । अघिल्लो पाँच वर्षको जस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौँ । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौँ भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’

मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घरघर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घरघर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’

काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।

यो संगै क्याप्टेन विजय लामाले शाहको बारेमा तारिफ गर्दै केहि विचार सामाजिक संजालमा राखेका छन् । उनले लेखेखेका छन्,

बालेन शाह भाइ नमस्ते!
राष्ट्रले परिवर्तन मागेको छ । त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनु पर्ने अवस्था छ । बिगतका चुनावका छनोट को परिणामहरु प्रायः आम जनताका लागि निराशाजनकनै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं सहर आज फोहोरको डुङुरमा परिणत भएको छ । न्युनतम पुर्भाधार को अभाव र चरम अव्यवस्था छ् । यस्तो अवस्थमा राजधानी शहरको बागडोर सम्हाल्न एक काबिल युवाको हैसियतले तपाईंले अफ्नो उम्मेद्बारी पेश गर्नु भएको छ ।

मेरो तपाईं सित ब्यक्तिगत पहिचान कुनै छैन । तर एक सचेत नगरवासिको नाताले सबै उमेदवारको बारेमा जानकारी राख्नु मेरो धर्महो झैं लागछ । तपाईं को बारेमा जति थाहा पाय त्यति प्रभावित भएको छु। तपाईंको घोषणापत्र पनि निकै ब्यवस्थित पाए । हुनुपर्ने र गर्न सकिने कुराहरु उल्लेखित रैछन। आफैँमा तपाई ईन्जिनियर भएको हुदा काठमाडौं सहरको गुमेको गौरव फर्काउन सकिने तपाईंको आत्मविश्वासको कदर गर्छु ।

एक स्वतन्त्र उमेदवारको हैसियतले प्रतिस्पर्धा गर्न पक्कै पनि सहज छैन । तर सकारात्मक सोच , धृड आत्मबल स्पष्ट योजना सहित अघि बढह्यो भने लक्ष अशम्भव छैन । कयौं देशमा राष्ट्र प्रमुखनै युवा पुस्ता छ्न । हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन । बरु अरु पार्टीहरुले पनि एक पटक युवा जनशक्तिमा बिश्वास गर्दा कति राम्रो हुन्थ्यो।
शुभकामना तपाइलाई!!
जय चन्द्र सुर्य

प्रतिक्रिया दिनुहोस