देउवासँग देश बनाउने एजेण्डा सोध्नुभयो भने – बढ्दा बोल्दै हुनुहुन्छ’ भन्ने जवाफ पाउनु हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश बनाउने कुनै एजेण्डा नभएको बताएका छन् ।

मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले यो गठबन्धन नामको कुहिएको ढोडको लौरो भएको टिप्पणी गरे ।

उनले भने, ‘नेपाली काँग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईको देश बनाउने एजेण्डा के छ ? भनेर सोध्नुस् । लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस् । सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली काँग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदा हुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस् ।

नेपाली काँग्रेसलाई होच्याउन खोज्ने भन्नुहुन्छ । उससँग जनताको बारेमा सोच छैन । उसले सत्ता बुझ्छ र फेरि पनि सत्ता टिकाइराख्न यो गठबन्धन नामको कुहिएको ढोडको लौरो आवश्यक छ भन्ने ठान्छ । यो कुहिएको ढोडको लौरो यही ३० गतेको चुनावमा खलास हुन्छ । त्यसपछि काँग्रेस हातको लौरो त छैन त्यस हालतमा हुन्छ ।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे । उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए । उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे । उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरे । चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए ।

उनले कांग्रेसको पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस